प्रेम सम्बन्धमा खटपटले उब्जाएको प्रतिशोधः विष हालेर प्रेमीको परिवारै मार्न खोजेको आरोपमा किशोरी पक्राउ

पोखरा— प्रेम सम्बन्ध टुटेपछि पोखरामा एक किशोरीले विष खुवाएर प्रेमीको परिवारकै हत्या प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा पुगेकी छिन्।

१८ वर्षीया किशोरीविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत पोखराको बैदाम प्रहरीमा जाहेरी दर्ता भइसकेको छ। विष हालिएको घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ।

मंगलबार दिउँसो सिमलचौरकी प्रियांशु भान्सामा खाजा बनाउने तयारीमा थिइन्। चाउचाउ पकाउन जारको पानी प्रयोग गर्न खोज्दा उनले सेतो पदार्थ मिसिएको देखिन्। त्यसमा अनौठो गन्ध पनि आएको उनले बताइन्। सुरुवातमा खासै शंका नगरेकी प्रियांशुले पछि राइस कुकर खोल्दा पनि त्यस्तै गन्ध आएको थाहा पाइन्।

भान्सामा बिहानसम्म केही नदेखिएको र एक्कासी यस्तो गन्ध आउनु शंकास्पद लागेपछि उनले सबै खाद्य वस्तु जाँच्न थालिन्। मह, चेवनप्रास, केचअपलगायतका सामग्रीमा पनि त्यस्तै सेतो पदार्थ देखिएपछि उनले प्रहरीलाई खबर गरिन्।

प्रहरी आएर अनुसन्धान गर्दा भान्सामा राखिएका खानेकुरामा विष मिसाइएको पुष्टि भएको हो। अनुसन्धानबाट खुलेको तथ्यअनुसार उक्त विष प्रियांशुका भाइ विश्वासकी पूर्वप्रेमिका अरुणिताले मिसाएकी थिइन्।

घरधनीका अनुसार, प्रियांशुको परिवार दिउँसो घरमा नभएको बेला अरुणिता आइपुगेकी थिइन्। जाहेरी अनुसार अरुणिता विश्वासकी प्रेमिका थिइन्। उनी प्रियांशुको घरमा भाइको साथी भनेर आवतजावत गर्थिन् र घरको चाबी कहाँ राखिन्छ भन्ने पनि जानकार थिइन्। केही समय अघि विश्वास र अरुणिताको सम्बन्ध टुटेको थियो।

प्रहरीका अनुसार अरुणिताले विश्वासले अर्को केटीसँग बोलिरहेको थाहा पाएपछि सम्बन्धमा दरार आएको थियो। त्यसैको रिसमा उनले यस्तो हर्कत गरेकी हुनसक्ने प्रहरीको अनुमान छ। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन्।

प्रियांशु, विश्वास र अरुणिता काल्पनिक नाम हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट