काठमाडौंमा जेन–जी प्रदर्शनः प्रहरीले गोली लागि मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौँ– काठमाडौंको बानेश्वर केन्द्रित जेन–जी प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाउँदा अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टि भएको छ।
ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेले पुष्टि गरे। उनका अनुसार, ‘१० जना गम्भीर अवस्थामा छन्। उनीहरुको टाउको र छातीमा गोली लागेको छ। २० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ।’
सिभिल अस्पतालमा ल्याइएका दुई जनाको पनि मृत्यु भएको छ भने काठमाडौँ मेडिकल कलेज र त्रिवि शिक्षण अस्पतालमा एक÷एक जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मृतकहरूको पहिचान अहिलेसम्म सार्वजनिक भएको छैन।
घाइतेमध्ये बानेश्वरमा रहेको हिमालयन जाभाका सञ्चालक शान्तकुमार मेहेता पनि गोली लागेर घाइते भएका छन्। प्रत्यक्षदर्शी रमिला नेपालका अनुसार, मेहेतालाई सिसाबाट छिरेको गोली लागेको थियो र उनीसहित १५–२० जना जाभाभित्रै सुरक्षित रहेको बताइन्छ।
प्रदर्शनकारीले भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको सरकारले प्रतिबन्धको विरोधमा सडकमा उत्रेका हुन्। प्रहरीले उनीहरूलाई नियन्त्रण गर्न अश्रुग्यास, पानीको फोहरा र गोली प्रहार गरेको थियो। घाइतेहरू ट्रमा सेन्टर, सिभिल, एभरेस्ट, काठमाडौँ मेडिकल कलेज र त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
सुरक्षा बलको दमनपछि बानेश्वर क्षेत्रमा कफ्र्यू लागू गरिएको छ र अहिले सेना परिचालित छ। यसैबीच राजधानीका अन्य मुख्य सहरमा पनि जेन–जी प्रदर्शन जारी रहेको छ।
प्रदर्शन हिंसात्मक भएको र मृत्यु तथा घाइतेको संख्या बढ्दै गएको अवस्थाले काठमाडौं उपत्यकामा स्थिति तनावपूर्ण बनाएको छ। प्रशासन र सुरक्षा निकायले स्थिति नियन्त्रणमा ल्याउन प्रयासरत छन्।