विराटनगरमा टिपरको ठक्करले ७६ वर्षीय स्कुटर चालकको मृत्यु, आक्रोशित भीडद्वारा टिपरमा आगजनी

विराटनगर — मोरङको विराटनगरमा सोमबार साँझ टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनापछि आक्रोशित भीडले टिपरमा आगजनी गरेको छ।

प्रदेश १–०२–००१ क ४५१४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको को २७ प ८५३४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो। विराटनगर महानगरपालिका–२ तीनपैनीमा भएको दुर्घटनामा स्कुटर चालक मोरङकै कटहरी गाउँपालिका–१ जमकोटीका ७६ वर्षीय सुदीशनारायण झाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनापछि स्थानीय आक्रोशित बनेका थिए। उनीहरूले टिपरमा आगजनी गर्दा सवारीसाधनको अगाडिको भाग जलेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए। उनका अनुसार प्रहरीको हस्तक्षेपपछि आगो पूर्ण रूपमा फैलिन पाएन।

टिपर चालक ग्रामथान गाउँपालिका–७ का ३१ वर्षीय सजन चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट