इटहरी, विराटनगर र दमकमा जेन–जी आन्दोलन उग्रः प्रधानमन्त्री ओली निवासमा ढुंगामुढा

इटहरी– जेन–जी पुस्ताद्वारा सञ्चालन गरिएको भ्रष्टाचार विरोधी आन्दोलन इटहरी, विराटनगर र दमकमा हिंसात्मक बनेको छ। आन्दोलनको उग्र स्वरूपका कारण प्रशासनले इटहरीमा कफ्र्यू आदेश जारी गरेको छ भने दमकमा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगामुढा गरेका छन्।
सुनसरीको इटहरी उपमहानगरपालिकामा दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालीन कफ्र्यू लागू गरिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार उत्तरतर्फ हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चौकभित्र, पूर्वतर्फ मिलनचोकदेखि जुट विकासभित्र, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चौकदेखि बसपार्क क्षेत्रभित्र र पश्चिममा कलंकी मोडदेखि जनता बस्तीभित्र कुनै भेला, जुलुस वा प्रदर्शन गर्न निषेध गरिएको छ।
इटहरीमा जेन–जी युवाहरूले उपमहानगर कार्यालयमा आगो लगाएर प्रदर्शन गरिरहेका छन्। प्रहरीको प्रारम्भिक बल प्रयोग र प्रयास असफल भएपछि स्थिति नियन्त्रण बाहिर गएको छ।
विराटनगरमा प्रदर्शनकारीहरूले रोडशेष चोक, महेन्द्र चोक, मेन रोड, डाँफे चोक र ट्राफिक चोक हुँदै कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गरेका छन्। निषेधित क्षेत्रतर्फ प्रवेश गर्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। यस क्रममा वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर अप्रिल चापागाईं घाइते भएका छन्। प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा उनको अनुहारमा लागेको थियो र न्युरो अस्पतालमा उपचार भइरहेको छ।
झापाको दमकमा जेन–जी आन्दोलन अझ उग्र बनेको छ। करिब डेढ सय प्रदर्शनकारीले शान्तिमार्गस्थित प्रधानमन्त्री ओलीको निवासमा ढुङ्गा प्रहार गरेका छन्। प्रहरीले केही राउन्ड हवाई फायर गरेका थिए। प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर यातायात अवरुद्ध गरेका छन्। झडपका क्रममा करिब १० जना घाइते भएका छन्।
सुनसरी, विराटनगर र दमकमा जारी प्रदर्शनले जनजीवन प्रभावित भएका छन्। प्रशासनले कफ्र्यू र सुरक्षा व्यवस्था कडा बनाएको भए पनि प्रदर्शनकारीहरू सडकमा देखिएका छन्। इटहरी, विराटनगर र दमकका सुरक्षा निकायहरूले स्थिति नियन्त्रणका लागि सक्रिय छन्।
यो आन्दोलन जेन–जी पुस्ताको सामाजिक सञ्जाल र सडक आन्दोलनको मिश्रण हो, जसले प्रमुख शहरहरूमा प्रशासनलाई चुनौती दिएको छ। नागरिकहरूलाई निषेधित क्षेत्रमा नजान र शान्तिपूर्ण रहन प्रशासनले सचेत गराएको छ।