जेन–जी आन्दोलनले ओली गृहनगर उथलपुथलः नगरपालिका कब्जा र आगजनी, गोली लागेर १ जना घाईते

दमक– प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा जेन–जी पुस्ताले चलाएको भ्रष्टाचारविरुद्धको आन्दोलन एकाएक नियन्त्रणबाहिर पुगेको छ। आन्दोलनकारीहरूले दमक नगरपालिकाको कार्यालय नै कब्जा गरेका छन्।

स्थानीय प्रशासनको प्रयासलाई बेवास्ता गर्दै आक्रोशित भीडले नगरपालिकामा तोडफोड गर्दै गाडी र मोटरसाइकलसहित एक दर्जन सवारीसाधनमा आगजनी गरेका छन्। यसपछि कार्यालय पूर्ण रूपमा आन्दोलनकारीहरूको नियन्त्रणमा पुगेको छ।

प्रदर्शन रोक्न सुरुवाती प्रयासस्वरूप प्रहरीले अश्रुग्यास र गोली प्रहार गरे पनि भीड थाम्न नसकेपछि पछि हट्नुपरेको थियो। गोली लागेर एकजना घाइते भएका छन् र उनको अहिले दमक अस्पतालमा उपचार भइरहेको छ।

दमकमा स्थिति नियन्त्रणमा लिन अहिले सशस्त्र प्रहरी परिचालन गरिएको छ। यद्यपि आन्दोलनकारीहरू अझै पनि नगरपालिका वरपर रहेका छन्।

भ्रष्टाचारविरुद्ध देशभर फैलिएको जेन–जी आन्दोलन अन्तर्गत सोमबारको प्रदर्शन विशेषगरी दमकमै उग्र बनेको हो। आन्दोलनकारीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै दमकलाई ‘जनआन्दोलनको केन्द्र’ बनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट