काठमाडौँमा जेन–जी प्रदर्शनमा ठुलो मानविय क्षतीः १७ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौँ– काठमाडौंमा सोमबार जेन–जी पुस्ताद्वारा सञ्चालन गरिएको प्रदर्शन अहिलेसम्मकै ठूलो हिंसात्मक आन्दोलनमा परिणत भएको छ। माइतीघरमण्डलामा बिहान ९ बजे शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुग्दा हिंसात्मक बनेको थियो।

प्रदर्शनकारीले संसद् भवन प्रवेश गरी आगजनी र मुख्य गेट भत्काउने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीको गोली प्रहारमा अहिलेसम्म १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

मृतकमध्ये ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५, सिभिल अस्पतालमा ३, काठमाडौँ मेडिकल कजेलमा २ र टिचिङ अस्पताल १ जनाको मृत्यु भएको छ।

प्रदर्शनमा घाइतेहरूको संख्या पनि ठूलो छ। सिभिल अस्पतालमा सबैभन्दा धेरै, ट्रमा सेन्टरमा २४, केएमसी अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा १५ र एभरेष्ट अस्पतालमा ३४ जना घाइते छन्। केही घाइतेहरू पाटन अस्पतालमा पनि उपचाररत छन्, र विवरण संकलन भइरहेको छ।

प्रदर्शनकारीहरूले काठमाडौंको नयाँ बानेश्वर केन्द्रित आन्दोलनमा हिंसात्मक ढंग अपनाएपछि प्रशासनले बानेश्वर क्षेत्रमा कफ्र्यू लागू गरेको छ। भक्तपुर, बालकोटतर्फ जान खोज्ने जुलुस टोलीलाई मनोहरा पुलमा रोकिएको थियो। डेढ–दुई सयको संख्यामा रहेको उक्त टोली प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै अघि बढेको जानकारी प्रहरीले दिएको छ।

स्वास्थ्य मन्त्रालयले घाइतेहरूको उपचार शुल्क नलिन सरकारी अस्पतालहरूलाई निर्देशन दिएको छ।

सोमबारको जेन–जी आन्दोलन अहिलेसम्म नेपालको इतिहासमा पहिलो दिनमै सबैभन्दा ठूलो मानवीय क्षति भएको प्रदर्शनको रूपमा रेकर्ड भएको छ। राजधानीभर तनावपूर्ण अवस्था कायम छ र सुरक्षा निकायहरूले स्थिति नियन्त्रणमा राख्न सक्रिय प्रयास गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट