काठमाडौंमा जेन–जी आन्दोलन हिंसात्मकः प्रहरीको गोली लागि ५ जनाको मृत्यु, घाइते १३० भन्दा बढी

काठमाडौंँ– काठमाडौँको नयाँबानेश्वर क्षेत्र र आसपासका स्थानहरूमा सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सञ्चालन गरेको आन्दोलन हिंसात्मक बनेको छ। प्रदर्शन अनियन्त्रित भएपछि प्रहरीले बल प्रयोग गरेको छ भने गोली प्रहारमा पाँच जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार चारजनाको ट्रमा सेन्टरमा र एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ। मृतकको पहिचान अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रदर्शनकारीहरू माइतीघरबाट सुरु भएर नयाँबानेश्वरतर्फ गएका थिए।

सडकमा ठूलो भिड भएपछि उनीहरूले संसद भवनतर्फ प्रवेश गरे। यस क्रममा प्रहरीले अश्रुग्यास, पानीको फोहरा र रबरको गोली प्रयोग ग¥यो। गोली प्रहारबाट घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। अहिले १३० भन्दा बढी घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। यसमध्ये १० जना प्रहरी रहेका छन्।

सुरक्षा बलले अत्यधिक बल प्रयोग गरेपछि प्रदर्शनकारीहरूले काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा आगजनी र तोडफोड गरेका छन्। केहीले एम्बुलेन्समा समेत आगो लगाएका थिए। प्रदर्शनकारीहरूले प्रहरीको नियन्त्रण चुनौती दिएका कारण जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्र, सिंहदरबार र राष्ट्रपति निवास वरपर मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ। तर युवाहरूले कफ्र्यूको अवज्ञा गर्दै प्रदर्शन जारी राखेका छन्।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालका अनुसार, प्रमुख जिल्ला अधिकारी छवि रिजालले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सुरक्षाकर्मीहरूलाई आवश्यक परेमा रबरको गोली प्रयोग गर्ने आदेश दिएका थिए। तर, सोझै व्यक्तिविशेषमाथि गोली हान्ने आदेश नभएको उनले स्पष्ट पारे।

अस्पतालहरूको अवस्था अत्यन्तै तनावपूर्ण बनेको छ। सिभिल र वीर अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। घाइतेहरूको संख्या बढ्दै जाँदा एम्बुलेन्स र अन्य अस्पतालहरूको आवश्यकता देखिएको छ। अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार, घाइतेहरूको संख्या १३० भन्दा बढी पुगेको छ।

जेन–जी आन्दोलन अहिलेसम्म कुनै राजनीतिक दलसँग सम्बन्धित नभई स्वतन्त्र युवा पुस्ताले सुरु गरेको आन्दोलनको रूपमा रहेको छ। तर, हिंसात्मक रूप लिँदै राजधानीको मुख्य प्रशासनिक केन्द्रतर्फ फैलिँदा स्थिति अत्यन्तै तनावपूर्ण बनेको छ।

प्रदर्शनका क्रममा मृतक र घाइतेको संख्या बढ्दो छ र प्रहरी तथा प्रशासनले स्थिति नियन्त्रणमा लिन प्रयासरत छन्। आन्दोलनकारीहरूले सडक र सार्वजनिक सम्पत्तिमाथि आक्रमण गरेपछि प्रशासनले बल प्रयोग गरी नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ।

यो घटनाले काठमाडौं उपत्यकामा सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र सार्वजनिक यातायातमा असर पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट