मेयरका भाइ र वडाध्यक्षले पत्रकार कुटे, जाहेरी दिने तयारी

काठमाडौँ– सल्यानको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीका भाई प्रमोद र वडा नम्बर ६ का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता भिकराज वुढाथोकीले मिलेर एक पत्रकारमाथि कुटपिट गरेका छन्।
कुमाख राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश परिषद् सदस्य नोखिराम थापामाथि शनिबार राति करिब ९ बजे कुटपिट गरिएको हो। श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा खाना खाइरहेका बेला ५–६ जनाको समूहले एकाएक आक्रमण गरेको थापाले बताएका छन्।
आक्रमणमा शारदा नगरपालिका–६ का वडाध्यक्ष तथा नेपाली कांग्रेस नेता भिकराज बुढाथोकी र शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीका सहोदर भाई प्रमोद भण्डारी संलग्न रहेको पीडित थापाको आरोप छ।
कुटपिटका कारण थापाको टाउको र आँखामा चोट लागेको छ। उनलाई तत्कालै श्रीनगरस्थित मेट्रो अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। थापाले केही दिनअघि श्रीनगर बसपार्क हस्तान्तरणअघि नै चिरा परेको समाचार प्रकाशित गरेका थिए।
बसपार्कका ठेकेदारसँग आक्रमणकारी समूह नजिक भएको भन्दै उनले समाचारकै कारण आफूलाई लक्षित गरेर आक्रमण गरिएको दाबी गरेका छन्। ‘ज्यान मार्ने उद्देश्यले नियोजित रूपमा आक्रमण गरिएको हो। आजै संलग्नविरुद्ध किटानी जाहेरी दिन्छु’– उनले भने।
नेपाल पत्रकार महासंघ सल्यान शाखा अध्यक्ष डिल्लीराज रावतले यस घटनाप्रति कडा आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग गरेका छन्। ‘समाचार लेखेकै कारण मेयरका भाइ र वडाध्यक्षबाट पत्रकार कुटिएको हो, यो अत्यन्तै दुःखद घटना हो। राजनीतिक पहुँचका आधारमा छुट दिन मिल्दैन, कानून बमोजिम कारबाही हुनुपर्छ,’ उनले भने।