इटहरीमा प्रहरीको गोलीबाट २ को मृत्यु, बिर्तामोडमा जेन–जी आन्दोलन तनावग्रस्त

इटहरी– सुनसरीको इटहरी र झापाको बिर्तामोडमा सोमबार जेन–जी आन्दोलन हिंसात्मक बनेको छ। इटहरीमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ भने बिर्तामोडमा तनाव चर्किँदै गएको छ।

इटहरीमा प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए। घाइतेमध्ये अन्दाजी २५ र ३० वर्षीय दुई युवालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।

मृत्यु भएका दुई जनाको परिचय खुलेको छैन। घाइतेमध्ये सशस्त्र प्रहरीका एक सहायक हवल्दारको बीपीमा उपचार भइरहेको छ। उनको गालामा चोट लागेको र गोली नै लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

उता, झापाको विर्तामोड नगरपालिका अगाडि प्रदर्शन हिंसात्मक बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। काठमाडौंमा प्रहरीले गोली चलाउँदा १७ जनाको मृत्यु भएको घटनापछि झापाका जेन–जी युवाहरू थप आक्रोशित बनेका हुन्।

उनीहरूले नगरपालिकामा ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिन खोजेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी राजन लिम्बुले पुष्टि गरेका छन्।

तर स्थानीयले भने प्रहरीले गोली चलाउँदा केही व्यक्तिहरू घाइते भएको दाबी गरेका छन्। घाइतेलाई बिएण्डसी अस्पताल पठाइएको बताइएको छ। यसअघि झापाको दमकमा पनि प्रदर्शन हिंसात्मक बनेर केही विद्यार्थीलाई गोली लाग्दा घाइते भएका थिए। कम्तिमा तीन जनाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

पूर्वी नेपालमा आन्दोलन चर्किँदै जाँदा इटहरीमा मृत्यु र बिर्तामोडमा तनावले जेन–जी आन्दोलन थप उग्र बन्दै गएको संकेत दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट