विवाद र भ्रष्टाचारले थिलथिलो रास्वपाः अब सप्तरीका सांसद उम्मेदवार नै अख्तियारको रेडारमा

राजविराज— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसले नयाँ राजनीतिक शक्ति र परिवर्तनको झण्डा बोकेर संसद् प्रवेश गरेको थियो, अहिले आफ्नै नेतृत्वका कारण निरन्तर संकटमा छ। छोटो अवधिमा संसदीय राजनीतिमा चौथो शक्ति बन्न सफल पार्टी अहिले नेताहरूका विवादास्पद अभिव्यक्ति, काण्ड र भ्रष्टाचार प्रकरणले आलोचनाको केन्द्रमा परिसकेको छ।

सभापति रवि लामिछानेको नागरिकता विवादले उनको राजनीतिक उचाइमा ठुलो ‘ब्रेक’ लगायो। अमेरिकी नागरिकता त्याग र नेपाली नागरिकता पुनःप्राप्तिमा देखिएको त्रुटिका कारण सर्वोच्चले सांसद पद खारेज गरेको थियो। तर, उपनिर्वाचनमा विजयी भई संसद् फर्किएका लामिछाने अहिले पनि राहदानी दुरुपयोग, सहकारी अपचलन र वुहुविवाह प्रकरणका कारण विवादको केन्द्रमा छन्। सामाजिक सञ्जालले छोराछोरी अलपत्र पारेको विषयमा उनलाई लगातार खेदिरहेको छ। सहकर्मी पत्रकार र चालकको मृत्युमा समेत लामिछानेले सामाजिक आलोचना खेपिरहेका छन्।

चुनावको मुखमा पार्टीमा वरिष्ठ नेता बनाएर ल्याइएका काठमाडौँ महानगरका पूर्वमेयर बालेन्द्र साह (वालेन) पनि विवादको घेरामा छन्। मेयर पदको उम्मेदवार हुँदा प्रदेश संरचना खारेज गर्नुपर्ने भन्दै आएका साह यतिवेला प्रदेश आवश्यक रहेको बताउँदा आलोचनामा परेका छन्। मेयर हुँदा सुकुम्वासीका झुपडी भत्काउन डोजर चलाएको, सांसद उम्मेदवार हुँदा पनि मतदातासँग खुला संवाद नगरी ‘खाली अनुहार’ रणनीतिमा चुनाव जित्ने प्रयास गरेको लगायतका विषयमा उनको आलोचना भईरहेको छ। साहप्रति समर्थक र शुभचिन्तकबाटै विरोधका स्वर उठेका छन्।

आफैंले समर्थन गर्ने पार्टीका उम्मेदवारले माला लगाई दिन खोज्दा अपमान गरेको र समर्थकलाई हुत्याको घटनाले पनि उनको छविमा नकारात्मक प्रभाव पारेको छ। उपसभामुखसमेत भएकी इन्दिरा राना मगर अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा विवादमा परिन। पत्र सार्वजनिक भएपछि संसद्मा राजीनामा माग्ने तहको विवाद फैलियो। पत्रमा उनले महिला अधिकारसँग सम्बन्धित नभएका व्यक्तिहरूको भिसा छिटो गरिदिन अनुरोध गरेकी थिइन्। पत्र सार्वजनिक भएपछि पद दुरुपयोगको आरोप लाग्यो, तर पार्टीले ‘पूर्व ज्ञान हुँदा यस्तो भयो’ भनेर उनलाई बचायो।

उपसभापति स्वर्णिम वाग्लेले देशको सेना घटाउनु पर्ने र भारतको हस्तक्षेप स्वीकार्नुपर्ने टिप्पणी गर्दा व्यापक विवाद उत्पन्न भयो। रास्वपामा हिन्दू र राजावादीलाई स्थान छैन भन्ने अभिव्यक्तिले उनलाई अहिलेसम्म पनि आलोचनामुक्त हुन दिएको छैन। विनीता कठायतले गरिबलाई नेता बनाउँदा भ्रष्टाचार हुने दाबी गर्दा आलोचना झेलिन्। खगेन्द्र सुनारले गाई काटेर खान पाउने टिप्पणी गरेपछि विवादको केन्द्रमा परे।

नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परे। डा. अरनिको पाँडे साइबर कानून उल्लङ्घनको आरोपमा हिरासतमा पुगे। पार्टीका महामन्त्री मुकुल ढकाललाई कारवाही गरी पार्टीबाट निकालियो। उपसभापति डीपी अर्याल र सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सहकारी विवादमा संलग्न भएको आरोप लाग्यो, तर प्रमाण नपुगेपछि विवाद टरेको छ।

हुँदा हुँदा जिल्ला तहका नेता र आगामी निर्वाचनका लागि बनाईएका उम्मेदवारसमेत विवादको केन्द्रमा तानिन थालेका छन्। त्यसको उदाहरण बनेका छन्– सप्तरीको निर्वार्चन क्षेत्र नम्बर ३ का उम्मेदवार अमरकान्त चौधरी। अख्तियारले भ्रष्टाचारको उजुरीका आधारमा बयानका लागि चौधरीसहित ९ जनालाई इटहरी स्थित कार्यालयमा बोलाएको छ। डाकनेश्वरी नगरपालिका–५ स्थित श्री कन्तचन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरीले भवन निर्माण कार्यमा मिलेमतो गरेर भ्रष्टाचार गरेको उजुरीको अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

उनी पूर्वसांसद तथा दिवंगत नेता चन्द्रकान्त चौधरीका छोरा हुन। उनी आफनै काका ताराकान्त चौधरी नेकपा एमालेबाट उम्मेदवार रहेकै क्षेत्रबाट उम्मेदवार वनेका हुन।

रास्वपाले शुरूवाती उत्साहले जनता र मिडियामा ठूलो अपेक्षा जगाएको थियो। तर, पार्टी नेतृत्वका काण्ड, आन्तरिक विवाद र नेताहरूका विवादास्पद अभिव्यक्तिले पार्टीलाई निरन्तर आलोचनाको घेरामा राखेको छ। वैकल्पिक राजनीतिक शक्ति बन्ने दावीले प्राप्त गरेको गति अहिले विवाद, आन्तरिक द्वन्द्व र भ्रष्टाचार प्रकरणले कमजोर हुँदै गएको छ।

घटनाक्रमले देखाउँछ, रास्वपा आफैँलाई नयाँ शक्ति र भ्रष्टाचारमुक्त वैकल्पिक पार्टीको रूपमा प्रस्तुत गर्दै आएको भए पनि आफ्नै नेताहरूका थरिथरिका विवाद र भ्रष्टाचार प्रकरणले यसको राजनीतिक विश्वसनीयतामा गम्भीर चोट पुर्‍याएको छ। यदि पार्टीले अब विवादको बाढी नियन्त्रण नगरी नेतृत्व सुधारमा ध्यान नदिने हो भने, वैकल्पिक शक्ति बन्ने अवसर गुम्ने खतरा बढ्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट