बन्दुक, गोली र नगद बरामदपछि नाइके पक्राउ प्रकरणले सिरहा कारागार रातभर अशान्त र तनावग्रस्त

लहान– सिरहा कारागारभित्र सोमबार बिहान गरिएको विशेष सर्च अपरेसनमा गोलीसहितको बन्दुक बरामद भएको प्रकरणले रातभरि कारागार क्षेत्र तनावग्रस्त बनेको छ। कारागारका नाइकेको कोठाबाट हतियार, गोली र नगद बरामद भएसँगै पक्राउ तथा नियन्त्रणको कारबाही भएपछि कैदीहरूले विरोध प्रदर्शन गर्दै छतमाथि नाराबाजी गरेका थिए।

गोप्य सूचनाका आधारमा सोमबार बिहान करिब ११ बजे गरिएको खोजतलासका क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली तथा १ लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो। जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त घटनापछि यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ।

पक्राउको विरोधमा कैदीहरूले दिनभरि र रातभरि कारागारको छतमाथि बसेर नाराबाजी गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले सोमबार राति करिब ९ बजे पानीको फोहरा प्रयोग गरेको थियो। त्यस क्रममा केहीबेर प्रहरी र कैदीबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो। कैदीहरूले समेत मोटरमार्फत प्रहरीतर्फ पानी फ्याँकेर प्रतिकार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रमेश बहादुर पालका अनुसार नाइके यादवलाई पुनः कारागारमै ल्याउनुपर्ने माग गर्दै कैदीहरूले मंगलबार बिहानसम्म पनि होहल्ला जारी राखेका छन्। उनले कारागारभित्रको अवस्था सामान्य बनाउन र आवश्यक निर्णय लिन जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको जानकारी दिए।

सुरक्षालाई ध्यानमा राख्दै कारागारभित्र र बाहिर करिब १५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रशासनका अनुसार घटनापछि कारागार क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

सीडीओ सुरेन्द्र पौडेलले कारागारभित्र मदिरा तथा लागुऔषध कारोबार, मोबाइल फोनको अवैध प्रयोग र चन्दाका नाममा जबर्जस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा अपरेसन सञ्चालन गरिएको बताए। अनुगमनका क्रममा हतियार, गोली र नगदका साथै चुरोट, सुर्ती जस्ता प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको छ।

नियन्त्रणमा लिइएका कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई कारागारबाट बाहिर निकालेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

१५० जनाको क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी राखिएको तथ्यांकले अत्यधिक भीडभाडका कारण व्यवस्थापन र सुरक्षामा चुनौती थपिएको देखिएको छ। प्रशासनले घटनाबारे थप अनुसन्धान भइरहेको र कारागारभित्र अनुशासन कायम गर्न आवश्यक सुधारात्मक कदम चालिने जनाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट