रवि–बालेन गठबन्धनमाथि कांग्रेसको हमलाः ‘फेसबुकको भीडले सरकार बन्दैन, गराइएको गठबन्धन छिट्टै ढल्छ’

काठमाडौँ— सामाजिक सञ्जालको कोलाहल र भौगोलिक यथार्थबीच ठूलो दूरी रहेको दाबी गर्दै नेपाली कांग्रेसले रवि लामिछाने र बालेन्द्र साहको गठबन्धनलाई क्षणिक र कृत्रिम भएको दावी गरेको छ। अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले डिजिटल लोकप्रियता र वास्तविक जनमत एउटै कुरा नभएको ठोकुवा गर्दै फेसबुक र टिकटकको भीडले चुनाव नजितिने दावी गरे।

सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको पृष्ठभूमिमा सञ्चारकर्मीहरूले बालेनको लोकप्रियतालाई कत्तिको चुनौती ठान्नुहुन्छ भन्ने प्रश्न गर्दा चालिसेले सामाजिक सञ्जालमा देखिने ‘क्रेज’लाई भ्रमको खेतीको संज्ञा दिए। उनले भने, सामाजिक सञ्जालले बनाएको छवि र जमिनमा देखिने मतदाताको मनस्थितिबीच ठूलो अन्तर छ, त्यसैले ‘भर्चुअल ताली’लाई वास्तविक समर्थन ठान्नु खतरनाक भ्रम हो।

रास्वपा सभापति रवि लामिछाने र बालेन साहबीचको सहकार्यबारे उनले झनै कडा टिप्पणी गरे। ‘यो उनीहरूको रहरले बनेको गठबन्धन होइन, गराइएको गठबन्धन हो,’ चालिसेको भनाइ थियो, ‘यसको कुनै वैचारिक आधार छैन, न दीर्घकालीन विश्वास। केही समयमै यसको नतिजा देखिन्छ।’ उनले यो समीकरणलाई अवसरवादी समायोजन भन्दै स्थायित्वको सम्भावना अस्वीकार गरे।

उनका अनुसार रास्वपाले आफ्नै साख जोगाउन बालेनलाई अघि सारेको हो। ‘सहकारी ठगी प्रकरणले रविको आकर्षण घटेपछि अर्को अनुहार खोजिएको मात्र हो,’ उनले भने, ‘पार्टीको विचार, संगठन र नीति भन्दा पनि ‘फेस’ बचाउने राजनीति भइरहेको छ।’ चालिसेको यो टिप्पणीले प्रत्यक्ष रूपमा रास्वपाको नैतिकता र वैचारिक धरातलमाथि प्रश्न उठाएको छ।

कांग्रेसले भने आफूलाई ‘जिम्मेवारीको राजनीति’को पक्षमा उभ्याएको दाबी गरेको छ। सभापति गगन थापाले निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बने प्रत्येक महिना प्रधानमन्त्रीले सार्वजनिक रूपमा आफ्नो कामको प्रतिवेदन बुझाउने व्यवस्था सुरु गर्ने घोषणा गरेका छन्। सर्लाही–४ बाट उम्मेदवार बनेका उनले मतदातासँगको भेटघाटमा पुरानो शैलीको ‘पाँच वर्ष गायब हुने राजनीति’ अब स्वीकार्य नहुने बताए।

उनको भनाइमा, चुनाव जितेर काठमाडौँ पुगेपछि पाँच वर्ष जनताबाट टाढा बस्ने प्रवृत्तिले नै जनविश्वास भत्काएको छ। ‘प्रधानमन्त्री पाँच वर्षका लागि होइन, प्रत्येक महिनाका लागि जबाफदेही हुनुपर्छ,’ उनले भनेका छन्, ‘एक महिनामा के काम गर्ने हो, सूची सार्वजनिक गर्नुपर्छ। अर्को महिनाको पहिलो दिन त्यसको हिसाब जनतालाई दिनुपर्छ।’ उनले मासिक प्रतिवेदन सार्वजनिक गर्ने संस्कार कांग्रेसबाटै सुरु गरिने दाबी गरे।

यो अभिव्यक्तिले चुनावी बहसलाई नयाँ मोड दिएको छ। एकातिर सामाजिक सञ्जालको उचाइमा उभिएका नयाँ शक्ति, अर्कोतिर संस्थागत जिम्मेवारी र संरचनागत उत्तरदायित्वको कुरा गर्ने पुराना दल। अब मतदाताले कुन मोडल रोज्छन् भन्ने प्रश्न थप पेचिलो बनेको छ। डिजिटल हल्ला र जमिनको यथार्थबीचको यो द्वन्द्व नै आगामी चुनावको असली परीक्षा बन्ने संकेत देखिएको छ।

कांग्रेसले हल्ला होइन, हिसाब–किताबको राजनीति गर्ने दाबी गरेको छ। अब त्यो दाबी कति व्यवहारमा उत्रिन्छ भन्ने निर्णय मतपेटिकाले गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट