एकपछि अर्को झट्का खाँदै उपेन्द्र यादवः आफ्नै क्षेत्रमा समर्थन खस्किँदै, प्रतिद्वन्द्वी बलियो
राजविराज — चुनाव नजिकिदै जाँदा सप्तरी क्षेत्र नम्बर ३ को शक्ति सन्तुलन तीव्र रूपमा बदलिँदै गएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका लागि पछिल्ला दिनहरू राजनीतिक रूपमा निकै चुनौतीपूर्ण बन्दै गएको छन।
पार्टीभित्रको असन्तुष्टि सतहमा आउनु, प्रभावशाली स्थानीय नेताहरूले साथ छोड्नु, र प्रतिद्वन्द्वी दलहरूबीच बनेको नयाँ समीकरणले यस क्षेत्रको चुनावलाई झन् पेचिलो र नाटकीय बनाएको छ। यही परिप्रेक्ष्यमा राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवारी दिएका गजेन्द्र मण्डलले अचानक आफ्नो राजनीतिक अडान परिवर्तन गर्दै नेपाली कांग्रेसका उम्मेदवार दिनेश कुमार यादवलाई समर्थन गर्ने घोषणा गरेका छन्।
नेपाल पत्रकार महासंघ, सप्तरीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको यो सहमति अनुसार राष्ट्रिय मुक्ति पार्टी र कांग्रेसबीच प्रत्यक्ष चुनावी सहकार्य बनेको छ। सहमति पत्रमा नेपाली कांग्रेस सप्तरीका सचिव सनत मण्डल र राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य मनोज चौधरीले हस्ताक्षर गरेका छन्।
यो निर्णयसँगै निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार दिनेश कुमार यादवको चुनावी आधार थप बलियो बनेको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ। यतिमात्र होइन, स्थानीय तहको राजनीतिमा प्रभाव राख्ने व्यक्तिहरू समेत कांग्रेसतर्फ आकर्षित हुन थालेका छन्।
रूपनी गाउँपालिकाका पूर्व वडा अध्यक्ष पीताम्बर यादवसहित जसपा नेपालसँग सम्बद्ध दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई कांग्रेस उम्मेदवार दिनेश यादवले औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्। पीताम्बर यादव यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा आबद्ध थिए, तर लोसपा हालै जसपासँग एकीकृत भएपछि उनीहरूको राजनीतिक यात्रा फेरि नयाँ मोडमा पुगेको देखिन्छ।
तर, यो प्रवेश स्वयंमा विवादमुक्त भने छैन। पीताम्बर यादव विगतमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिसकेका व्यक्ति हुन्। जिल्ला शिक्षा कार्यालय दैलेखमा सब–इन्जिनियरका रूपमा कार्यरत रहँदा नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि विशेष अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दोषी ठहर गर्दै ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
पछि सर्वोच्च अदालतले समेत उक्त फैसला सदर गरेपछि उनी फरार भएका थिए र करिब एक वर्षपछि पक्राउ परेका थिए। यस्तो पृष्ठभूमि भएका व्यक्तिको कांग्रेस प्रवेशले नैतिक र राजनीतिक बहसलाई पनि एकैसाथ चर्काएको छ।
यसअघि पार्टीका समन्वय समिति सदस्य जयप्रकाश ठाकुरले जसपा परित्यागको घोषणा गरेपछि जसपा नेपालभित्र लामो समयदेखि दबिएको असन्तोष सार्वजनिक रूपमा प्रकट भएको छ। ठाकुरले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा पार्टीभित्र नातावाद, कृपावाद, जातिवाद र अर्थवाद हावी हुँदै गएको आरोप लगाउँदै संगठन क्रमशः सिद्धान्तहीन र व्यक्ति–केन्द्रित बन्दै गएको गम्भीर टिप्पणी गरेका छन्।
उनले सामूहिक निर्णय प्रक्रियालाई कमजोर पारिएको, सीमित व्यक्तिको प्रभाव बढ्दै गएको र राजनीतिक सिद्धान्तभन्दा सत्ता समीकरणलाई प्राथमिकता दिने प्रवृत्ति बढेको आरोप समेत लगाएका छन्।
ठाकुरको बहिरगमन केवल एउटा व्यक्तिगत निर्णय मात्र नभई मधेशको राजनीतिमा संकेतात्मक घटनाका रूपमा हेरिएको छ। विगतका निर्वाचनमा प्रभाव देखाइसकेका उनले पार्टी छोड्दा त्यसको सीधा असर अध्यक्ष उपेन्द्र यादवको चुनावी समीकरणमा पर्ने विश्लेषण भइरहेको छ। यसअघि विभिन्न निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै आएका यादव यसपटक नयाँ राजनीतिक आधार खोज्दै सप्तरी–३ बाट मैदानमा उत्रिएका हुन्।
२०७९ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँगको हारपछि सुरक्षित राजनीतिक आधार खोजेको आरोप उनीमाथि लाग्दै आएको छ, र अहिले आफ्नै क्षेत्रमा देखिएको असन्तुष्टिले उनको रणनीतिमाथि थप प्रश्न उठाएको छ।
राजनीतिक वृत्तमा अर्को बहस पनि उब्जिएको छ—जसपा नेपालको चुनावी अभियानमा विवादित पात्रहरूको सक्रियता। नागरिकता विवाद र विभिन्न आरोपमा मुछिएका शैलेन्द्रमोहन झा जस्ता व्यक्तिहरू अभियानमा सक्रिय देखिनुले पार्टीभित्रै असन्तोष बढेको चर्चा मधेशमा व्यापक छ। किर्ते नागरिक्ता लिएको आरोप लागेका यस्ता व्यक्तिहरू सार्वजनिक रूपमा नेतृत्वसँग नजिक देखिनुले संगठनात्मक एकता कमजोर भएको टिप्पणीसमेत भइरहेको छ।
स्थानीय स्तरमा राजनीतिक संरक्षणका कारण विवादित विषयहरूमा स्पष्ट छानबिन अघि नबढ्ने आरोप पनि उठ्ने गरेको छ। सप्तरी–३ को चुनावी गणित आफैंमा अत्यन्त रोचक र संवेदनशील मानिन्छ। रूपनी, विष्णुपुर र राजगढ गाउँपालिका तथा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका समेटिएको यस क्षेत्रमा एक लाख ११ हजारभन्दा बढी मतदाता रहेका छन् र कुल २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
कांग्रेस, एमाले, जसपा नेपाल र अन्य शक्तिहरूबीच हुने प्रतिस्पर्धा यसपटक असाधारण रूपमा चर्को हुने संकेत देखिएको छ। विगतका चुनावी नतिजाले पनि यहाँको मत समीकरण स्थिर नभएको देखाएको छ, जसले चुनावलाई अझ अनिश्चित र रोचक बनाएको छ।
चुनाव नजिकिँदै जाँदा पार्टीभित्रै देखिएको विद्रोह, बाह्य गठबन्धन र स्थानीय नेताहरूको समीकरण परिवर्तनले उपेन्द्र यादवको राजनीतिक भविष्य मात्र होइन, मधेशको राजनीतिक दिशामाथि पनि गम्भीर प्रश्न उठाइरहेको छ। अहिलेको घटनाक्रमले एउटै संकेत स्पष्ट गरेको छ—सप्तरी–३ को चुनाव अब केवल उम्मेदवारहरूको प्रतिस्पर्धा मात्र होइन, शक्ति, प्रभाव र विश्वासको निर्णायक परीक्षण बन्नेछ।
