प्रेमविवाह गरेको ७ वर्षपछि सम्वन्धमा खटपट, टिकटकमा आमासँग गुनासो गर्दै युवतीद्वारा देहत्याग
वीरगन्ज— पर्साको वीरगन्ज महानगरपालिका–१० मा डेरा गरी बस्दै आएकी २० वर्षीया युवतीले टीकटकमा आमासँग पीडा पोखेर प्राण त्याग गरेकी छिन्। रौतहटको दिपही स्थायी घर भएकी माही गुप्ताले आइतबार आफ्नै कोठाभित्र प्राण त्यागेकी हुन।
मोडलिङ क्षेत्रमा सक्रिय रहेकी गुप्ता टिकटकमा परिचित अनुहार हुन। उनी पछिल्लो समय व्यक्तिगत जीवनका कारण मानसिक दबाबमा रहेको संकेत देखिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनले केही समयअघि आफ्नै टिकटक आइडीमार्फत आमालाई सम्बोधन गर्दै गहिरो पीडा व्यक्त गरेकी थिइन्। उक्त भिडियोमा उनले आफूलाई एक्लोपनले घेरेको र कसैले स्वीकार नगरेको अनुभूति व्यक्त गरेकी थिइन्।
उक्त भिडियोले उनको मानसिक अवस्थाबारे गम्भीर संकेत दिएको थियो। स्थानीय स्रोतका अनुसार माहीले आफ्नै गाउँका विवेक गुप्तासँग करिब सात वर्षअघि प्रेमविवाह गरेकी थिइन्। तर पछिल्लो समय उनीहरूबीच सम्बन्धमा दरार आएको र त्यसले उनको जीवनमा थप तनाव सिर्जना गरेको बताइन्छ। पारिवारिक र व्यक्तिगत सम्बन्धमा आएको असन्तुलनले उनको मानसिक स्वास्थ्यमा असर पारेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनापछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ भने घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ। यस घटनाले विशेषगरी युवा पुस्तामा बढ्दो मानसिक दबाब, सम्बन्धगत अस्थिरता र सामाजिक सञ्जालमार्फत व्यक्त हुने पीडाको गहिरो सन्देशलाई उजागर गरेको छ।
