सरकारलाई राजेश हमालको सन्देशः भाषण होइन, परिणाम चाहिन्छ

काठमाडौँ– नेपाली चलचित्रका अभिनेता राजेश हमालले सरकारको कार्यसम्पादन, युवा आन्दोलन, विधिको शासन र नेपालको परराष्ट्र नीतिबारे धारणा सार्वजनिक गर्दै जनताले अब भाषणभन्दा बढी परिणाम, जवाफदेहिता र सुशासन खोजिरहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको विस्तृत टिप्पणीमा उनले सरकारको पहिलो सय दिनको मूल्याङ्कन प्रतिबद्धता र घोषणाले होइन, जनतासामु प्रस्तुत गरिएका नतिजाका आधारमा हुनुपर्ने उल्लेख गरेका छन्।

हमालले वर्तमान राजनीतिक नेतृत्व र राज्य संयन्त्रप्रति जनअपेक्षा बढिरहेको सन्दर्भमा ‘आज नेपाली जनताले भाषणभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरेका छन’ भन्दै सरकारको कार्यक्षमतामाथि अप्रत्यक्ष टिप्पणी गरेका छन्।

उनले कुनै पनि सरकारको प्रारम्भिक कार्यकालको मूल्याङ्कन गर्दा घोषणापत्र वा सार्वजनिक प्रतिबद्धताभन्दा व्यवहारिक उपलब्धि र नीतिगत दिशालाई आधार बनाउनुपर्ने धारणा राखेका छन्। उनका अनुसार सरकारको सफलताको मापन जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्ने परिणामबाट हुनुपर्छ।

अन्तर्राष्ट्रिय राजनीतितर्फ संकेत गर्दै हमालले नेपालले शक्तिशाली राष्ट्रहरूको प्रतिस्पर्धाबीच पनि आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्। ‘हामी सबैसँग मित्रताको हात बढाऔँ, तर कुनै पनि शक्तिको प्रभावले हाम्रो सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतालाई ओझेलमा पार्न नदिऔँ,’ उनले लेखेका छन्।

हालै देशका विभिन्न भागमा देखिएका युवा आन्दोलनप्रति पनि उनले टिप्पणी गरेका छन्। उनका अनुसार ती आन्दोलनहरूले समाजभित्र रहेको असन्तुष्टि, निराशा र परिवर्तनको आकांक्षालाई उजागर गरेका छन्। उनले शान्तिपूर्ण विरोधलाई लोकतन्त्रको आधारभूत अधिकारका रूपमा स्वीकार गर्दै हिंसा र आगजनीलाई भने अस्वीकार्य बताएका छन्।

‘शान्तिपूर्ण विरोध लोकतन्त्रको प्राण हो, तर हिंसा र आगजनी लोकतन्त्रको भाषा हुन सक्दैन,’ हमालले लेखेका छन्। उनले लोकतान्त्रिक अधिकार प्रयोग गर्ने नागरिक सम्मानका पात्र भएको उल्लेख गर्दै कानुनविपरीत कार्य गर्ने जोसुकै भए पनि निष्पक्ष रूपमा कानुनी दायरामा ल्याइनुपर्ने धारणा व्यक्त गरेका छन्।

हमालले राष्ट्र निर्माणका लागि राजनीतिक दल, विचारधारा वा समूहगत स्वार्थभन्दा माथि उठेर संस्थागत सुदृढीकरणमा जोड दिएका छन्। राष्ट्रको शक्ति बलियो संस्था, विधिको शासन र राष्ट्रिय एकतामा निहित रहेको उनको भनाइ छ।

‘राष्ट्रको वास्तविक शक्ति संस्थाहरूलाई सबल बनाउनुमा, विधिको शासनलाई सुदृढ गर्नुमा, र दलगत राजनीतिभन्दा माथि नेपाललाई राख्न सक्नुमा निहित हुन्छ,’ उनले उल्लेख गरेका छन्। फेसबुक स्टाटसको अन्त्यमा हमालले नेपालीहरूलाई विवेकशील, एकताबद्ध र राष्ट्रप्रति समर्पित बन्न आह्वान गरेका छन्। उनले राजनीतिक निष्ठाभन्दा राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै विभाजनभन्दा विवेक र सहकार्यको मार्ग रोज्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आएको हमालको यो अभिव्यक्ति राजनीतिक संक्रमण, युवा असन्तुष्टि, सुशासनको बहस र परराष्ट्र नीतिका विषयमा जारी सार्वजनिक छलफलका बीच आएको हो। यद्यपि उनले कुनै राजनीतिक दल, नेता वा सरकारको नाम भने उल्लेख गरेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट