गुल्मीमा प्रहरी इन्स्पेक्टर पर्वत केसी आफ्नै कोठामा मृत फेला, दाजुले दिए ज्यानसम्बन्धी जाहेरी
काठमाडौँ– गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी आफ्नै सरकारी निवासको कोठामा मृत फेला परेका छन्। मंगलबार बिहान साढे ९ बजेतिर लामो समयसम्म नउठेपछि उनलाई उठाउन गएका प्रहरी कर्मचारीले कोठाको ढोका फोडेर हेर्दा उनी मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार राति सुतेका केसी बिहान बोलाउँदा पनि नउठेपछि ढोका फोडेर भित्र हेर्दा मृत अवस्थामा फेला परेका थिए। ‘राति सुतेपछि बिहान किन उठ्नु भएन भनेर बोलाउन जाँदा उहाँ मृत अवस्थामा भेटिनुभएको हो। शंकास्पद केही देखिएन,’ डीएसपी विश्वकर्माले भनेका छन्।
५२ वर्षीय केसीको परिवार दाङमा घर भई हाल नेपालगन्जमा बस्दै आएको थियो। उनी २०५२ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। उनको मृत्युको कारण भने खुलेको छैन। शव परीक्षणबाट प्राप्त हुने विवरण र थप अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारणबारे स्पष्ट हुन सक्नेछ।
यसैबीच, मृतकका दाजुले भाइको मृत्युको वास्तविकता पत्ता लगाउन माग गर्दै ज्यानसम्बन्धी कसूरमा जाहेरी दिएका छन्। परिवारले जाहेरी दिएपछि मात्रै शव बुझेको बताइएको छ। प्रहरीले भने घटनास्थलमा शंकास्पद अवस्था नदेखिएको प्रारम्भिक प्रतिक्रिया दिएको छ।
प्रहरी संगठनभित्रै कार्यरत एक अधिकृतको आफ्नै निवासमा भएको मृत्युबारे परिवारले जाहेरी दिएपछि घटनाको निष्पक्ष अनुसन्धान र मृत्युको कारण सार्वजनिक हुनुपर्ने प्रश्न उठेको छ।
लोकप्रिय
औषधि राख्ने फ्रिजमा ह्विलचेयर भेटिएपछि स्वास्थ्य मन्त्री सचिवमाथि खनिइन्, ‘सामान्य व्यवस्थापन पनि गर्न सक्नुहुन्न?’
सभामुखको स्वागत गर्ने होटल छान्ने विवादमा रास्वपामा कुटाकुट, महोत्तरीमा सांसद र जिल्ला उपसभापति आमनेसामने
ताजा अपडेट
गृहमन्त्रीकी आमाको भिडियो प्रकरणमा एक व्यक्ति पक्राउ, भिडियो पहिलोपटक पोस्ट गर्ने पत्रकार नै सम्पर्कविहीन !
तीन दशक अरूका सन्तानको भविष्य बनाउन बिताएका शिक्षक आज आफ्नै जीवन बचाउन सहयोगको प्रतीक्षामा, ब्रेन हेमरेजपछि अस्पतालको शैय्यामा श्यामानन्द

