सिन्धुलीमा होटलमा खाना खाएर ब्याक गर्ने क्रममा यात्रुवाहक बस १० मिटर तल खस्यो, ९ जना घाइते
सिन्धुली — बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टरनजिक यात्रुवाहक बस सडकबाट करिब १० मिटर तल खस्दा नौ जना घाइते भएका छन्। शुक्रबार दिउँसो काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २७७४ नम्बरको बस खाना खाएर यात्रु चढाउने क्रममा ब्याक गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस होटलमा खाना खान रोकिएको थियो। खाना खाइसकेपछि यात्रु चढाएर बस पछाडि सार्ने क्रममा सडकबाट तल खसेको हो। दुर्घटनामा घाइते भएका नौ जनाको खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन।
दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

