सप्तरीमा धानखेतमा गाडिएको हात्ती फेला, मारेर पुरेको आशंका, एक जना पक्राउ
राजविराज— सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित धानखेतमा खाल्डो खनेर पुरिएको जंगली हात्ती फेला परेको छ। हात्तीलाई मारेर खाल्डोमा गाडि परालले छोपिएको अवस्थामा फेला परेको हो।
घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् भने हात्तीको मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम भइरहेको छ। डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरका अनुसार कोशीटप्पु वन्यजन्तु आरक्षको नियमित गस्ती टोलीले कंकालिनी मन्दिरबाट करिब एक किलोमिटर उत्तरपूर्वमा रहेको धानखेतमा हात्ती पुरिएको अवस्थामा फेला पारेको हो।
‘हात्तीलाई खाल्डोमा पुरेर माथिबाट पराल हालेको देखियो। गाडिएको हात्तीलाई बाहिर निकालेर अहिले पोस्टमार्टम भइरहेको छ।’– ठाकुरले भने। हात्तीलाई दुई–तीन दिनअघि नै मारेर गाडिएको हुन सक्ने आशंका गरिएको छ। तर, हात्तीको मृत्यु कसरी भयो भन्ने विषयमा अहिलेसम्म यकिन विवरण सार्वजनिक भएको छैन।
डिभिजन वन कार्यालय सप्तरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। पोस्टमार्टमबाट मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको कार्यालयको भनाई छ। परीक्षणपछि हात्तीको शव पुनः खाल्डोमा गाडिने जनाइएको छ। पक्राउ परेका व्यक्तिको संलग्नता के थियो भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन।
यसअघि असोज २८ गते उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बस्दै आएको ‘सानो दारे’ नामले चिनिने करिब २० देखि २५ वर्ष उमेरको वयस्क भाले हात्ती मृत फेला परेको थियो। आरक्षबाट करिब एक किलोमिटर दूरीमा भेटिएको उक्त हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको थियो।
त्यसको वास्तविक कारण पोस्टमार्टमपछि मात्रै खुल्ने डिभिजन वन कार्यालय उदयपुरले जनाएको थियो। उदयपुरमा हात्ती मृत भेटिएको घटनापछि सप्तरीमा हात्ती पुरिएको अवस्थामा फेला परेको हो। यद्यपि, यी दुई घटनाबीच कुनै सम्बन्ध रहेको पुष्टि भएको छैन।
सप्तरीमा फेला परेको हात्तीको मृत्युको कारण र घटनामा पक्राउ परेका व्यक्तिको भूमिकाबारे अनुसन्धान तथा पोस्टमार्टमको नतिजापछि मात्रै थप तथ्य खुल्नेछ।

