मोटरको तार चोरीको आरोपमा ६९ वर्षीय व्यवसायीको हत्या, शव कार्पेटमा बेरेर खोलामा फालियो, २ नाबालकसहित तीन पक्राउ
विराटनगर– पानी तान्ने मोटरको तार चोरी गरेको आरोपलाई लिएर उत्पन्न विवादमा विराटनगरका ६९ वर्षीय ब्याट्री व्यवसायी लालजीप्रसाद गुप्ताको हत्या भएको प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक हार्डवेयर व्यापारीसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुई जना नाबालक छन्।
पक्राउ पर्नेमा मुख्य आरोपित विराटनगर महानगरपालिका–६, स्वागत चोकका ३६ वर्षीय अफरोज आलम छन्। उनी विराटनगर–६ महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालन गर्दै आएका थिए। घटनापछि शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा भारतका १३ वर्षीय बालक र नेपालका १६ वर्षीय किशोरलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवै नाबालकको परिचय प्रहरीले सार्वजनिक गरेको छैन।
भारतको वाराणसी स्थायी घर भएका गुप्ता करिब ४० वर्षदेखि विराटनगरमा बस्दै आएका थिए। उनी विराटनगर–६ धरान रोडमा ‘लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्थे। पछिल्लो समय उनी विराटनगर–११ अल्कामार्गमा डेरा गरी बस्दै आएका थिए।
गुप्ता कात्तिक ६ गतेदेखि सम्पर्कविहीन भएका थिए। त्यसको भोलिपल्ट सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केशलिया खोलाको किनारमा उनको शव फेला परेको थियो। शवको पहिचान र घटनाको प्रकृतिबारे अनुसन्धान अघि बढाएको प्रहरीले प्राविधिक विश्लेषण तथा स्थलगत प्रमाणका आधारमा मंगलबार साँझ तीन जनालाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटनाको जड पानी तान्ने मोटरको तार चोरीको आरोपसँग जोडिएको छ। विराटनगर–६ स्थित ‘माता इलेक्ट्रिक वक्र्स’मा मोटरको तार हराएपछि गुप्ता र आलमबीच त्यस विषयलाई लिएर विवाद भएको प्रहरीको भनाइ छ। चोरीको आरोप लगाएपछि आक्रोशित भएका आलमले गुप्तालाई छलफल गर्ने भन्दै आफ्नो घरमा बोलाएको र त्यहीँ विवाद चर्किएपछि आक्रमण गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आलमले फलामको जीआई पाइपले गुप्ताको टाउकोमा प्रहार गरेका थिए। गम्भीर घाइते भएका गुप्तामाथि पुनः आक्रमण हुँदा उनको मृत्यु भएको प्रहरीको दाबी छ। यद्यपि, मोटरको तार चोरी भएको थियो वा थिएन भन्ने विषय अनुसन्धानबाट पुष्टि भइसकेको छैन।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार चोरीको आरोप लगाएको विषयलाई लिएर गुप्तालाई घरमा बोलाएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनले चोरीको आरोप सत्य थियो वा थिएन भन्ने कुरा अझै खुल्न बाँकी रहेको बताएका छन्।
हत्या भएपछि घटना लुकाउन र शव व्यवस्थापन गर्न दुई नाबालकको सहयोग लिइएको प्रहरीको भनाइ छ। आलमको घर मदर्सानजिकै रहेको र त्यहाँ पढ्ने बालकलाई शव व्यवस्थापनमा प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनीहरूलाई के प्रलोभन वा दबाब दिएर प्रयोग गरियो भन्ने विषय भने खुलिसकेको छैन।
प्रहरीका अनुसार शवलाई कार्पेटमा पोको पारेर सिटी सफारीमार्फत सुनसरीको बर्जु गाउँपालिका–२ स्थित केशलिया खोलाको किनारमा पु¥याई फालिएको थियो। विराटनगरमा भएको भनिएको घटनापछि शव अर्को जिल्लामा लगेर फालिएको विषयलाई प्रहरीले घटनाको अनुसन्धानमा महत्वपूर्ण कडीका रूपमा लिएको छ।
शव फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलको निरीक्षण, मुचुल्का तथा प्रमाण संकलनसँगै प्राविधिक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अनुसन्धानकै क्रममा मंगलबार साँझ तीन जनालाई पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट घटनामा प्रयोग भएको भनिएको एक थान जीआई पाइप, मृतकले प्रयोग गर्ने रेडमी कम्पनीको मोबाइल फोन र शव ओसार्न प्रयोग गरिएको कार्पेट बरामद गरेको जनाएको छ। बरामद सामग्रीको परीक्षण तथा अन्य प्रमाणको विश्लेषणबाट घटनाको थप विवरण खुल्ने प्रहरीको अपेक्षा छ।
गुप्ताको हत्या आरोपमा पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या कसरी र कुन परिस्थितिमा भएको थियो, शव व्यवस्थापनमा प्रत्येक व्यक्तिको भूमिका के थियो तथा घटनासँग जोडिएका अन्य तथ्य के छन् भन्ने विषय अनुसन्धानपछि स्पष्ट हुनेछन्।

