कारागारबाट भागेका बलात्कार मुद्दाका दोषी १४ महिनापछि पक्राउ, भारतदेखि उपल्लो मुस्ताङसम्म लुकेर बसेको खुलासा

पोखरा– जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका बलात्कार मुद्दाका दोषी नारायण घिमिरे १४ महिनापछि पक्राउ परेका छन्। भारतका विभिन्न सहरमा बसेर नेपाल फर्किएका उनी पछिल्लो समय उपल्लो मुस्ताङको चैलेस्थित होटलमा काम गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

४८ वर्षीय घिमिरेलाई प्रहरीले शुक्रबार बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–स्थित चैलेबाट पक्राउ गरेको हो। कास्की प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई पोखरा ल्याइएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शनिबार पुनः कास्की कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

घिमिरेमाथि नाबालिगमाथि बलात्कार गरेको कसुरमा अदालतबाट ११ वर्ष ८ महिना १ दिन कैद सजाय तोकिएको थियो। उनी २०७९ जेठ १९ गते पक्राउ परेका थिए। जिल्ला अदालत लमजुङले २०८० असार ४ गते उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–७ मान्द्रेचौतारामा होटल सञ्चालन गर्दै आएका घिमिरेले त्यही होटलमा काम गर्ने १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको अदालतको ठहर थियो। सजाय भुक्तान गरिरहेका उनलाई २०८२ साउनमा लमजुङ कारागारमा वर्षाका कारण क्षति पुगेपछि अन्य कैदीबन्दीसँगै कास्की कारागार सारिएको थियो। लमजुङबाट तनहुँ र कास्की कारागारमा स्थानान्तरण गरिएका कैदीबन्दीमध्ये ७८ जना पोखरा ल्याइएका थिए।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट कैदीबन्दी फरार हुँदा घिमिरे पनि भागेका थिए। प्रहरीका अनुसार कारागारबाट निस्किएपछि उनी त्यही दिन पोखराको लेकसाइडस्थित एउटा होटलमा लुकेर बसेका थिए। भोलिपल्ट पृथ्वीचोक हुँदै वालिङ र लुम्बिनी अस्पताल चोक पुगेका उनले बीच बाटोमा सवारीसाधन परिवर्तन गरेका थिए। त्यसपछि बेलहिया नाका हुँदै भारत प्रवेश गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

भारत पुगेपछि उनी मुम्बईको सुबासनगरस्थित ‘ग्रिन चिली’ रेस्टुरेन्टमा काम गर्न थालेका थिए। उक्त रेस्टुरेन्टमा उनी यसअघि पनि १२–१३ वर्ष काम गरिसकेका थिए। त्यहाँ २७ दिन काम गरेपछि उनी सोमनाथ मन्दिर पुगेका थिए। त्यसपछि दिल्ली गएर ‘यल्लो बल’ रेस्टुरेन्टमा आफ्नो वास्तविक परिचय लुकाएर काम गरेको प्रहरीको भनाइ छ।

भारतमा बस्दै गर्दा उनको भेट स्याङ्जाका विमल नेपाली नाम बताउने एक व्यक्तिसँग भएको थियो। ती व्यक्तिका आफन्तले मुस्ताङमा काम गर्न बोलाएपछि घिमिरेले पनि त्यतै जाने योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ। २०८२ पुसमा नेपाल–भारत मैत्री बसमार्फत बुटवल आएका उनी स्याङ्जा हुँदै पोखरा पुगेका थिए। त्यसपछि मुस्ताङतर्फ लागेका थिए।

प्रहरीका अनुसार घिमिरेले चैलेस्थित ‘प्रोमिसा होटल’मा करिब नौ महिना काम गरेका थिए। त्यहाँ उनले आफ्नो वास्तविक परिचय लुकाएर बसेका थिए। २०८३ असोज १९ गतेदेखि भने उनी सोही क्षेत्रमा रहेको ‘लिभान रेस्टुरेन्ट’मा काम गर्न थालेका थिए।

उपल्लो मुस्ताङमा उनी लुकेर बसेको सूचना पाएपछि प्रहरीले निगरानी र खोजी तीव्र पारेको थियो। अन्ततः विशेष टोलीले उनलाई पक्राउ गर्न सफल भयो। जेनजी आन्दोलनका क्रममा देशभरका कारागार तथा बालसुधार गृहबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएका थिए। उपलब्ध विवरणअनुसार २८ वटा कारागार र नौ वटा बालसुधार गृह गरी ३७ केन्द्रबाट कैदीबन्दी भागेका थिए।

कास्की कारागारबाट मात्रै ७५३ जना फरार भएको विवरण छ। तीमध्ये ११ जना विदेशी नागरिकसहित ११० जना अझै फरार रहेको प्रहरीको विवरणमा उल्लेख छ। कारागारबाट फरार भएका कैदीबन्दीमध्ये घिमिरेको पक्राउले फरार व्यक्तिको खोजी र कारागार सुरक्षामाथिको प्रश्न फेरि उठाएको छ।

अदालतबाट गम्भीर अपराधमा दोषी ठहर भई कैद सजाय भोगिरहेका व्यक्ति कारागारबाट निस्किएपछि भारत हुँदै उपल्लो मुस्ताङसम्म पुगेर लामो समयसम्म परिचय लुकाएर काम गर्न सफल हुनु सुरक्षा निकायका लागि पनि चुनौती बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट