अस्पताल उदघाटनको विवादमा माथिल्लो आदेश विनै प्रहरीले गोली चलाएको खुलासा, १५ वर्षीय बालक गम्भीर घाइते
बारा– बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उदघाटन गर्ने विषयमा भएको विवाद हिंसात्मक झडपमा परिणत हुँदा प्रहरीको गोली लागेर १५ वर्षीय बालक गम्भीर घाइते भएका छन्। झडपका क्रममा अस्पताल परिसरमा तोडफोड र मोटरसाइकलमा आगजनीसमेत भएको छ। घटनापछि स्थानीय प्रशासनले छानबिन थालेको छ। प्रारम्भिक विवरणअनुसार गोली चलाउनुअघि सीडीओ र जिल्ला प्रहरी प्रमुखलाई जानकारी गराइएको थिएन।
फेटा गाउँपालिका–३ का आदित्य पासवानको तिघ्रा तथा शरीरको पछाडिको भागमा गोली लागेको प्रहरीले जनाएको छ। उनलाई वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ। बाराका सीडीओ खडानन्द अधिकारीका अनुसार बालकको शरीरबाट गोली निकालिएको छ र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
घटनाबारे प्रतिक्रिया दिँदै अधिकारीले प्रहरीले ‘हवाई फायर’ गरेको जानकारी दिए पनि गोली चलाउनुअघि आफू र प्रहरी प्रमुखलाई जानकारी नगराइएको बताएका छन्। ‘एउटाले हवाई फायर भनेर गोली चलाएको छ,’ उनले भने, ‘हामीले घटनाको छानबिन सुरु गरेका छौँ। गोली चलाउनुअघि सीडीओ र एसपीलाई जानकारी गराइएको थिएन।’
प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको जानकारी मधेश प्रदेश प्रहरी कार्यालयलाई गराएको थियो। तर गोली लागेर बालक घाइते भएपछि प्रहरीले चलाएको गोली हवाई फायरका क्रममा कसरी उनलाई लाग्यो भन्ने प्रश्न उठेको छ। गोली चलाउने प्रहरी को थिए, कुन परिस्थितिमा गोली चलाइयो र त्यसका लागि कसको आदेश थियो भन्ने विषयमा प्रशासनले अनुसन्धान गरिरहेको छ।
झडपमा ढुंगामुढा लागेर पाँच जना प्रहरी घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले बताएका छन्। घटनाका क्रममा अस्पताल परिसरमा रहेका मोटरसाइकलमा आगजनी भएको छ। प्रहरी र स्थानीयका विवरणअनुसार प्रहरीको एउटा मोटरसाइकलसहित करिब १० वटा मोटरसाइकलमा आगो लगाइएको थियो।
अस्पताल परिसरमा तोडफोड भएपछि प्रहरीले लाठीचार्ज गरेर भिड तितरबितर पारेको थियो। झडपका क्रममा अस्पतालका कर्मचारी, सुरक्षाकर्मी र केही सञ्चारकर्मी परिसरभित्रै थुनिएका थिए। पछि थप मद्दतका लागि पुगेको प्रहरी टोलीले त्यहाँ रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको उâार गरेको प्रशासनले जनाएको छ।
घटनापछि फेटाको सुरक्षा व्यवस्था कडा पारिएको छ। अवस्था थप बिग्रन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीका १५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठक बसेर दुवै पक्षसँग संवाद गर्ने र शान्ति सुरक्षा कायम गर्ने निर्णय गरिएको सीडीओ अधिकारीले बताएका छन्। सुरक्षाकर्मी परिचालनपछि अस्पताल वरपरको अवस्था सामान्य बन्दै गएको प्रशासनको भनाइ छ।
अस्पताल उदघाटनलाई लिएर केही दिनदेखि विवाद
फेटा गाउँपालिकामा १५ शैय्याको नवनिर्मित अस्पताल उदघाटन गर्ने कार्यक्रमलाई लिएर केही दिनअघिदेखि नै विवाद सुरु भएको थियो। गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले शनिबार दिउँसो १ बजे अस्पताल उदघाटन गर्ने कार्यक्रम तय गरेका थिए। उदघाटनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटा फेटा आउने तयारी थियो।
बास्कोटा यसअघि विवेकशील साझा पार्टीकी अध्यक्ष थिइन्। सोही पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष अन्सारीको पार्टी पनि पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको थियो।
तर अस्पतालको निर्माणकार्य पूर्ण रूपमा नसकिएको भन्दै स्थानीयका एक समूहले उदघाटन कार्यक्रम रोक्न माग गर्दै आएका थिए। उनीहरूको दाबीअनुसार अस्पतालमा विद्युत्, फर्निचरलगायतका काम बाँकी थिए। निर्माण पूरा नगरी उदघाटन गरेर अस्पताल सञ्चालन गर्न नसकिने भन्दै उनीहरूले कार्यक्रम केही समय पछाडि सार्न आग्रह गरेका थिए।
विरोध गर्ने पक्षमा गाउँपालिकाका निवर्तमान अध्यक्ष अमिरीलाल प्रसाद साह कानु, पूर्ववडाध्यक्ष उपेन्द्र साह र शिक्षक लालबाबु साहलगायत थिए। उनीहरूले अस्पतालको निर्माण पूरा भएपछि मात्रै उदघाटन गर्नुपर्ने माग राख्दै स्थानीय प्रशासनको ध्यानाकर्षणसमेत गराएका थिए।
निवर्तमान अध्यक्ष साह कानु एमालेबाट निर्वाचित भएका थिए। अस्पताल निर्माणको सुरुवात आफ्नै कार्यकालमा भएको भन्दै उनीसहितका एमाले नेता तथा कार्यकर्ताले उदघाटन कार्यक्रमप्रति असन्तुष्टि जनाएका थिए। तर विवादको कारण निर्माणको बाँकी काम मात्रै थियो वा शिलालेखमा नाम राख्ने विषय पनि जोडिएको थियो भन्नेबारे फरक–फरक दाबी आएका छन्।
बाराका सीडीओ अधिकारीका अनुसार स्थानीय एमाले नेताहरूले उदघाटन कार्यक्रम बिथोल्ने चेतावनी दुई दिनअघि नै जिल्ला प्रशासनमा दिएका थिए। शिक्षक लालबाबु साह पनि विरोधको नेतृत्वमा रहेको भन्दै प्रशासनमा पुगेका थिए।
सहायक सीडीओ छविरमण भट्टराईका अनुसार राजनीतिक गतिविधिमा संलग्न भएको विषयमा प्रशासनले दुई दिनअघि नै शिक्षा विकास तथा समन्वय इकाइ बारालाई जानकारी गराएको थियो। साह जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्।
प्रशासनको आग्रहपछि पनि रोकिएन कार्यक्रम
उदघाटन कार्यक्रमको विरोधमा स्थानीयले शनिबार बिहानैदेखि अस्पताल परिसरमा प्रदर्शन गरेका थिए। उनीहरूले उदघाटनका लागि तयार पारिएको टेन्ट र शिलालेखमा तोडफोड गरेका थिए।
स्थिति तनावपूर्ण बन्न सक्ने देखिएपछि स्थानीय प्रशासनले गाउँपालिका अध्यक्ष अन्सारीलाई कार्यक्रम स्थगित गर्न आग्रह गरेको थियो। तर उदघाटन कार्यक्रम रोक्ने वा पछि सार्ने विषयमा सहमति जुट्न सकेन। एकातिर उदघाटन गर्ने पक्ष आफ्नो तयारीबाट पछि हटेन भने अर्कोतिर विरोधमा उत्रिएका स्थानीयले कार्यक्रम रोक्ने अडान छाडेनन्।
प्रशासनका अनुसार उदघाटनस्थलमा करिब पाँच सय मानिस भेला भएका थिए। केही व्यक्तिले अस्पतालको निर्माण गुणस्तर र काम सम्पन्न नभएको विषय उठाउँदै टेन्ट भत्काउन थालेपछि प्रहरीले सम्झाइबुझाइ गर्ने प्रयास गरेको थियो। त्यसक्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि स्थिति थप तनावपूर्ण बनेको प्रहरीको भनाइ छ।
इलाका प्रहरी कार्यालय प्रसौनीका इन्स्पेक्टर सुमन लामा नेतृत्वको टोलीले विरोधमा रहेका निवर्तमान अध्यक्ष र पूर्ववडाध्यक्षलाई नियन्त्रणमा लिन खोजेपछि झडप सुरु भएको जनाईएको छ। त्यसपछि प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा भएको थियो। झडपकै क्रममा प्रहरीले गोली चलाउँदा पासवान घाइते भएका हुन्।
बालकलाई गोली लागेपछि आक्रोशित स्थानीयले अस्पताल परिसरमा तोडफोड र आगजनी गरेका थिए। यसले घटनालाई थप उग्र बनाएको थियो।
गोली चलाउने प्रहरीको भूमिकामाथि छानबिन
घटनाको सबैभन्दा गम्भीर पक्ष १५ वर्षीय बालकलाई लागेको गोली हो। प्रहरीले ‘हवाई फायर’ गरेको विवरण दिए पनि गोली बालकको शरीरमा लागेको छ। गोली चलाउने प्रहरीको पहिचान, घटनास्थलको अवस्था, गोली चलाउनुअघिको आदेश र प्रयोग गरिएको हतियारबारे छानबिन भइरहेको प्रशासनले जनाएको छ।
सीडीओ अधिकारीका अनुसार गोली चलाउने विषयमा आफू र जिल्ला प्रहरी प्रमुखलाई पूर्वजानकारी दिइएको थिएन। यसले प्रहरी टोलीले आफ्नै निर्णयमा गोली चलाएको हो वा घटनास्थलमा खटिएका अधिकारीबाट आदेश आएको थियो भन्ने प्रश्न उठाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र हालसम्म कसैलाई पक्राउ नगरिएको सहायक सीडीओ भट्टराईले बताएका छन्। प्रशासनले दुवै पक्षसँग संवाद गरेर अवस्था सामान्य बनाउने प्रयास गरिरहेको छ।
अस्पताल उदघाटनको विवादले एउटा किशोरलाई गोली लाग्ने, प्रहरी घाइते हुने र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी हुने अवस्था कसरी सिर्जना भयो भन्ने प्रश्न अब छानबिनको विषय बनेको छ। विशेषगरी गोली चलाउने निर्णय कसले गर्यो र त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयको निष्पक्ष अनुसन्धान आवश्यक देखिएको छ।
लोकप्रिय
ताजा अपडेट
न्यायाधीश फुयालमाथि प्रश्नैप्रश्नः बिचौलियासँग च्याटदेखि सैनिक मुद्दासम्म, न्यायिक आचरणमाथि गम्भीर शंका
अस्पताल उदघाटनको विवादमा माथिल्लो आदेश विनै प्रहरीले गोली चलाएको खुलासा, १५ वर्षीय बालक गम्भीर घाइते

