सानीआमाको हत्या आरोपमा १६ वर्षदेखि फरार प्रेमबहादुर मेरठबाट पक्राउ

काठमाडौँ– कैलालीमा घरायसी विवादका क्रममा ढुंगाले हानेर ६५ वर्षीया सानीआमाको मृत्यु भएपछि अस्पतालबाटै फरार भएका प्रेमबहादुर शाही १६ वर्षपछि भारतको मेरठबाट पक्राउ परेका छन्। नेपालका विभिन्न स्थान हुँदै भारत पुगेका उनी त्यहाँ व्यापार व्यवसाय गरेर बस्दै आएका थिए।

कैलालीको बर्दगोरिया गाउँपालिका–१ का ५८ वर्षीय प्रेमबहादुर शाहीलाई सानीआमाको हत्या आरोपमा प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ। २०६७ पुस २८ गते घरायसी विवादका क्रममा प्रेमबहादुरले ढुंगा प्रहार गर्दा ६५ वर्षीया सानीआमा सुनरूपा भुइँमा ढलेकी थिइन्। उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भएपछि अस्पतालबाटै फरार भएका शाही अन्ततः मेरठबाट पक्राउ परेका हुन्।

घटना भएको दिन शाहीले क्षणिक आवेशमा आएर सानीआमा सुनरूपामाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा टाउकोमा लागेपछि गम्भीर घाइते भएकी उनलाई शाही आफैँले उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होम पु¥याएका थिए। तर, उपचारकै क्रममा सुनरूपाको मृत्यु भयो।

सुनरूपाको मृत्यु भएपछि प्रहरीले शाहीको खोजी सुरु ग¥यो। पक्राउ पर्ने डरले उनी अस्पतालबाटै भागे। त्यसपछि सुरु भयो उनको लामो फरार जीवन। अस्पतालबाट भागेपछि शाही सुरुमा बाराको सिमरा पुगे। केही समय त्यहाँ लुकेर बसेका उनले प्रहरीले खोजिरहेको सूचना पाएपछि नेपाल छाड्ने निर्णय गरे। त्यसपछि भारत पुगेका उनी दिल्ली, देहरादुन र हिमाञ्चल प्रदेश हुँदै उत्तर प्रदेशको मेरठ पुगे।

अन्ततः मेरठमै व्यापार व्यवसाय सुरु गरेर बस्न थाले। १६ वर्षसम्म उनी नेपाल फर्किएनन्। श्रीमती र बालबच्चालाई घरमै छाडेका शाही परिवारसँग भने सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो। भारतको मेरठमा व्यापार गरेर बसिरहेको सूचना पाएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोली उनको खोजीमा भारत पुगेको स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरिएको बताए पनि स्रोतका अनुसार प्रहरी टोली भारतको मेरठमै पुगेर शाहीलाई नियन्त्रणमा लिई नेपाल ल्याएको हो। नेपाल ल्याइएपछि अनुसन्धानका क्रममा शाहीले २०६७ सालमा सानीआमामाथि ढुंगा प्रहार गरेको स्वीकार गरेका छन्। प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा उनले सुनरूपाको हत्या गर्ने उद्देश्य नरहेको दाबी गरेका छन्।

‘रिस थाम्न सकिनँ। नजिकै ढुंगा थियो, सानीआमालाई हानेको टाउकोमै लागेछ। अस्पताल पनि लगेँ र उपचारका क्रममा मृत्यु भयो। डर लाग्यो, अनि भागेँ,’ उनको बयान उद्धृत गर्दै स्रोतले जनाएको छ। कैलाली प्रहरीका प्रवक्ता एवं डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार शाहीलाई कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कैलालीबाट पाँच दिनको म्याद लिइएको छ।

१६ वर्षअघि भएको घटनापछि अस्पतालबाटै भागेका शाहीले भारतमा नयाँ जीवन सुरु गरे पनि उनीविरुद्धको मुद्दा र प्रहरीको खोजी रोकिएको थिएन। लामो समयपछि पक्राउ परेका उनीमाथि अब प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट