पुरानो ठगी मुद्दा अदालतमा, हनुमानी फेरि पक्राउः ‘पैसा डबल’ धन्दाको जालो अझै खोतलिन बाँकी

राजविराज— ‘पैसा डबल गरिदिन्छु’ भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर रकम असुल्ने आरोप लागेर फेरी पक्राउ परेका सप्तरीका हनुमानी भनिने रामबहादुर रजकका विषयमा अनुशन्धान गर्न अदालतले प्रहरीलाई तीन दिनको म्याद दिएको छ। पुरानो ठगी मुद्दा सप्तरी जिल्ला अदालतमा विचाराधीन रहेकै बेला उनीविरुद्ध उदयपुरका दुर्गा पराजुलीले नयाँ उजुरी दिएपछि प्रहरीले रजकसहित दुई जनालाई पक्राउ गरेको हो।

सप्तरी प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रजक र उनका सहयोगी भनिएका गुन्जेश सिंहलाई कात्तिक १७ गते पक्राउ गरिएको हो। उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी दुर्गा पराजुलीलाई लगानी गरेको रकम दोब्बर बनाइदिने प्रलोभन देखाएर रजकले पाँच लाख रुपैयाँ लिएका थिए। पराजुलीको पहिले नै चिनजान रहेका गुन्जेश सिंहमार्फत रजकसँग सम्पर्क भएको थियो।

पाँच लाख रुपैयाँ दिएपछि केही समयसम्म रकम फिर्ता हुने आशामा रहेका पराजुलीलाई रजकले पछि फेरि रकम नपुगेको भन्दै थप एक लाख रुपैयाँ मागेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ। थप एक लाख रुपैयाँ लिएर आउन भन्दै रजकले कात्तिक १७ गते बोलाएपछि पराजुली उनको घर पुगेका थिए। दिउँसो करिब २ बजे घर पुगेका उनलाई रजकले मोबाइलसमेत खोसेर सम्पर्कविहीन बनाएको प्रहरीको विवरणमा उल्लेख छ।

घटनाबारे उनका साथीहरूले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले रजकको घरमा पुगेर दुवै जनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले रजकको घरबाट एक लाख रुपैयाँ बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो। कात्तिक १८ गते सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।

पुरानो मुद्दा विचाराधीन, फेरि उस्तै प्रकृतिको आरोप
रामबहादुर रजकको यो पहिलो पक्राउ होइन। ‘पैसा डबल गरिदिने’ प्रलोभन देखाएर दर्जनौँ व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा उनी यसअघि २०८१ पुसमा पनि पक्राउ परेका थिए।

त्यतिबेला उनीविरुद्ध विभिन्न व्यक्तिले रकम ठगी गरेको भन्दै उजुरी दिएका थिए। उजुरी परेपछि मोबाइल बन्द गरेर सम्पर्कविहीन भएका रजकलाई प्रहरीले सुराकीका आधारमा पक्राउ गरेको थियो। उनको ठगी कारोबारमा समूह नै संलग्न रहेको प्रहरी स्रोतको दाबी थियो।

त्यस प्रकरणमा पीडित भनिएका व्यक्तिहरू रकम उठाउन गाडीसहित उनको घर पुगेको र त्यसक्रममा रजक पक्षले उनीहरूमाथि कुटपिट गर्नुका साथै गाडीसमेत तोडफोड गरेको आरोप सार्वजनिक भएको थियो।

उक्त विवाद प्रहरीसम्म पुगे पनि कारबाहीको सट्टा मिलापत्र गराइएको दाबीसमेत त्यतिबेला सार्वजनिक भएको थियो। प्रहरीको तत्कालीन अनुसन्धान र कारबाही प्रक्रियामाथि पनि प्रश्न उठेका थिए।

रजक पक्राउ परेपछि करिब तीन महिना थुनामा बसेका थिए। २०८१ फागुन २९ गते उनी ११ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको विवरण सार्वजनिक भएको थियो। उनका छोरा मनोज रजक पाँच लाख र श्रीमती लिलम रजक सात लाख रुपैयाँ धरौटीमा छुटेको विवरणसमेत आएको थियो।

धरौटीमा छुटे पनि उनीविरुद्धको पुरानो मुद्दा अदालतमा विचाराधीन छ। त्यसको अन्तिम फैसला नआउँदै उनीविरुद्ध फेरि उस्तै प्रकृतिको ठगी आरोपमा उजुरी परेको छ।

पाँच लाखपछि थप एक लाख मागेको आरोप, घरमै पुगेपछि मोबाइल खोसियो
यसपटकको घटनामा पाँच लाख रुपैयाँ दिएपछि थप एक लाख मागिएको र रकम लिन घर पुगेका पीडितको मोबाइलसमेत खोसिएको प्रहरीको विवरणले देखाउँछ।

प्रहरीको प्रारम्भिक विवरणअनुसार रजकले रकम दोब्बर बनाइदिने भन्दै पाँच लाख लिएका थिए। पछि रकम अपुग भएको भन्दै थप एक लाख मागेपछि पीडितलाई घरमा बोलाइएको थियो।

पीडित घर पुगेपछि मोबाइल खोसेर सम्पर्कविहीन बनाइएको आरोप छ। साथीहरूले प्रहरीलाई खबर गरेपछि प्रहरीले घरबाटै दुवै जनालाई नियन्त्रणमा लिएको हो।

यसपटक प्रहरीले एक लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। तर पाँच लाख रुपैयाँको कारोबार कसरी भएको थियो, रकम कहाँ प्रयोग गरियो, दोब्बर बनाइदिने आश्वासन कसरी दिइएको थियो र यसमा अरू व्यक्ति पनि संलग्न छन् कि छैनन् भन्ने विषय अनुसन्धानबाट खुल्न बाँकी छ।

पुरानो प्रकरणमा उठेका प्रश्नको जवाफ अझै आवश्यक
रजकको पछिल्लो पक्राउसँगै २०८१ पुसमा सार्वजनिक भएको ठगी प्रकरण र त्यसबेला प्रहरीको भूमिकामाथि उठेका प्रश्न पनि फेरि सान्दर्भिक बनेका छन्।

त्यतिबेला ठगीमा परेको भन्दै रकम उठाउन पुगेका व्यक्तिमाथि कुटपिट र गाडी तोडफोड भएको आरोप लागेको थियो। पीडितको उजुरी, पक्राउ परेका व्यक्तिको हिरासत, मिलापत्र र तत्कालीन प्रहरी अधिकारीमाथि लागेको आर्थिक लेनदेनको आरोपले उक्त प्रकरणलाई थप विवादित बनाएको थियो।

तत्कालीन डीएसपी ढुण्डीराज न्यौपानेमाथि पीडितको उजुरी बेपत्ता पारिदिएको, पक्राउ परेका व्यक्तिहरूलाई छाडेको र त्यसबापत १० लाख रुपैयाँ लिएको आरोपसमेत सार्वजनिक भएको थियो। न्यौपानेले भने उक्त आरोप अस्वीकार गर्दै आफूलाई घटनाबारे जानकारी नै नभएको बताएका थिए।

त्यसैले अहिलेको अनुसन्धान केवल नयाँ उजुरीमा सीमित हुनु पर्याप्त हुँदैन। रजकसँग जोडिएका पुराना उजुरी, सम्भावित पीडित, आर्थिक कारोबार, समूहगत संलग्नता र विगतको अनुसन्धान प्रक्रियासमेत छानबिनको दायरामा आउनुपर्ने देखिन्छ।

यसपटक पक्राउ परेका रजक र सिंहमाथि लागेको आरोप अदालतबाट प्रमाणित हुन बाँकी छ। पुरानो मुद्दा पनि विचाराधीन नै छ। तर पटकपटक उस्तै प्रकृतिका आरोपमा नाम जोडिनु र नयाँ पीडितसमेत प्रहरीसम्म पुग्नुले यस प्रकरणको गहिरो अनुसन्धान आवश्यक बनाएको छ।

अब प्रहरीले नयाँ उजुरीका आधारमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान टुंग्याउने हो वा वर्षौंदेखि उठ्दै आएको ‘पैसा दोब्बर’ ठगी कारोबारको सञ्जाल र त्यसलाई संरक्षण मिलेको पुरानो प्रहरी भूमिकासमेत खोतल्ने हो भन्ने प्रश्न महत्वपूर्ण बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट