समाचारका विषयमा नेपाल आँखा कार्यक्रमको खण्डन
राजविराज– नेपाल आँखा कार्यक्रम (तिलगंगा आँखा प्रतिष्ठान) ले शीर्षखबरमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै खण्डन तथा प्रतिक्रिया पठाएको छ।
प्रतिष्ठानका तर्फबाट प्रिताम्बर अधिकारीले पठाएको पत्रमा विभिन्न मितिमा प्रकाशित समाचार सामग्रीप्रति ध्यानाकर्षण भएको जनाइएको छ।
पत्रमा विभिन्न मितिमा प्रकाशित ‘फत्तेबालको १ करोड ५ लाख लगानी, फ्रेड होलोजका उपकरण निजी अस्पतालमा ! डा. सन्दुक रुईतमाथि गम्भीर प्रश्न’, ‘तिलगंगाका दुई विवादित पात्र– भित्र अधिकारी, बाहिर अग्रवालः मानव अधिकारको सिफारिसदेखि करोडौँको उपकरण कारोबारसम्म’ लगायतका समाचारप्रति आपत्ति जनाइएको छ।
उल्लेखित समाचारमा प्रस्तुत विषयवस्तु सत्यभन्दा फरक रहेको दाबी गर्दै प्रतिष्ठानले समाचार सामग्री एकपक्षीय, आधारहीन, कपोलकल्पित र दुर्भावनापूर्ण रहेको जनाएको छ।
समाचार प्रकाशन गर्नुअघि तथ्यलाई आधार नबनाइएको, समाचारमा उल्लेखित व्यक्ति वा सम्बन्धित कार्यालयसँग कुनै सूचना नलिइएको तथा अप्रमाणित विषयवस्तु प्रकाशन गरिएको प्रतिष्ठानको आरोप छ। यस्ता समाचारले आमपाठकमाझ सम्बन्धित व्यक्तिको चरित्रहत्या गर्ने र नकारात्मक सन्देश प्रवाह गर्ने प्रतिष्ठानको जिकिर छ।
पत्रमा समाचार निर्माण र प्रकाशनका आफ्नै नैतिक मूल्य तथा मान्यता हुने उल्लेख गर्दै रिपोर्टरले तयार पारेको सामग्री प्रकाशनयोग्य छ वा छैन भन्ने विषय सम्पादकीय डेस्कले समेत परीक्षण गर्नुपर्ने भनिएको छ।
पत्रकारिताका न्यूनतम मर्यादा र सम्पादकीय जिम्मेवारीलाई बेवास्ता गर्दै समाचार प्रकाशित भएको भन्दै प्रतिष्ठानले दुःख व्यक्त गरेको छ। साथै, प्रकाशित सामग्रीको खण्डन गर्दै आफ्नो प्रतिक्रिया शीर्षखबरमा प्रकाशित गरिदिन अनुरोध गरेको छ।
नोटः यो प्रतिष्ठानले पठाएको खण्डनको समाचार रूपान्तरण हो। खण्डनमा गरिएका दाबीलाई प्रतिष्ठानकै भनाइका रूपमा प्रस्तुत गरिएको छ, स्वतन्त्र रूपमा पुष्टि भएको तथ्यका रूपमा होइन। शीर्षखबरका मूल समाचारमा उठाइएका विषय र त्यसका प्रमाणमाथिको स्वतन्त्र परीक्षण भने छुट्टै विषय हो।

