वीरगन्जमा ३२ लाखको माछा कर्याप्प ! भन्सार कागजातभन्दा बढी भेटिएपछि ट्रकसमेत नियन्त्रण
वीरगञ्ज— भन्सार कागजातमा उल्लेख भएकोभन्दा ४४ क्यारेट बढी माछा लोड गरेर ल्याइएको मालवाहक ट्रक प्रहरीले वीरगन्जमा नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा ३२ लाखभन्दा बढी मूल्यको माछासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो।
बुधबार राति वीरगन्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डमा प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको ट्रक प्रहरीको नियन्त्रणमा परेको हो। जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त टोलीले ट्रक जाँच गर्दा भन्सार प्रज्ञापनपत्रमा उल्लेख भएको परिमाणभन्दा बढी माछा लोड गरिएको फेला पारेको थियो।
प्रहरीका अनुसार ट्रकमा ९६ क्यारेट माछाको मात्रै भन्सार प्रज्ञापनपत्र थियो। तर, जाँच गर्दा थप ४४ क्यारेट माछा भेटिएको थियो। यसरी कागजातमा उल्लेख भएको परिमाणभन्दा बढी माछा ल्याइएको पाइएपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो।
प्रहरीले ट्रकका चालक वीरगन्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय रविकुमार साहलाई समेत नियन्त्रणमा लिएको छ। ट्रकसहित बरामद माछाको कुल मूल्यांकन ३२ लाख ११ हजार ३ सय ९२ रुपैयाँ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नियन्त्रणमा लिइएको ट्रक, चालक र बरामद माछालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।
भन्सार कागजातमा ९६ क्यारेट, ट्रकमा थप ४४ क्यारेट माछा भेटिनुले आयातको वास्तविक परिमाण र भन्सारमा पेस गरिएको विवरणबीचको अन्तरमाथि अनुसन्धान आवश्यक देखिएको छ।

