मोरङमा परपुरुषसँग मिलेर श्रीमानको हत्या गरी भाग्दै गरेकी श्रीमती पक्राउ !

विराटनगर– मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा परपुरुषसँग मिलेर श्रीमानको हत्या गरेको आरोप लागेकी महिला घटनापछि फरार भएको अवस्थामा पक्राउ परेकी छिन्। ४० वर्षीय श्रीमान् बुधराम सोरेनको टाउकोमा फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा उनकी ३५ वर्षीया श्रीमती कमली बास्के पक्राउ परेकी हुन।

प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे बुधराममाथि रड प्रहार गरिएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा कमली र सुनिल दुवैको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै सुनिल मिश्रलाई घटनामा प्रयोग भएको फलामको रडसहित पक्राउ गरेको थियो। श्रीमानको हत्या भएपछि फरार भएकी कमलीलाई भने सोमबार बिहान खेत हुँदै भागिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर घटनाको कारण र उनीहरूको भूमिकाबारे अनुसन्धान गरिरहेको छ। पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधरामको हत्या गर्नुको कारण तत्काल स्पष्ट भइसकेको छैन। घटनाअघि उनीहरूबीच के भएको थियो, हत्या योजनाबद्ध थियो वा तत्कालीन विवादका क्रममा भएको हो भन्ने विषय अनुसन्धानकै क्रममा छ।

श्रीमती र भारतीय नागरिक मिलेर श्रीमानको हत्या गरेको आरोपमा दुवै पक्राउ परेपछि प्रहरीले घटनाको पृष्ठभूमि, आपसी सम्बन्ध र हत्यामा प्रयोग भएको हतियारलगायतका विषयमा थप अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट