झापामा गोरु तस्कर र सशस्त्र प्रहरीबीच झडप, एकको तिघ्राको हड्डी भाँचियो

झापा– झापाको दक्षिणी सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका १८ वटा गोरु नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी र कारोबारीबीच झडप भएको छ। झापा गाउँपालिका–१ स्थित लसुनगञ्ज सीमा नाकामा भएको झडपमा एक स्थानीय घाइते भएका छन्।

सशस्त्र प्रहरीको लाठी प्रहारबाट झापा गाउँपालिका–२ निवासी ४१ वर्षीय विनोदकुमार बराइलीको दाहिने तिघ्राको हड्डी भाँचिएको छ। नेपालबाट भारततर्फ अवैध रूपमा गोरु लैजाँदै गरेको सूचनाका आधारमा सशस्त्र प्रहरी बलले परिचालन गरेको टोलीले १८ वटा गोरु नियन्त्रणमा लिएपछि विवाद सुरु भएको थियो।

त्यसक्रममा १० देखि १५ जनाको समूहमा आएका चौपाया कारोबारीले सुरक्षाकर्मीको बाटो छेकेर अवरोध गर्नुका साथै हातपातको प्रयास गरेका थिए। लसुनगञ्ज नाकाबाट ठूलो परिमाणमा चौपाया तस्करी भइरहेको सूचनापछि सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर रिजर्भ गण पाडाजुङ्गीबाट एसपी दिनेशकुमार बस्नेतको कमान्डमा २५ जनाको टोली परिचालन गरिएको थियो।

सोही टोलीले सीमा क्षेत्रमा निगरानी तथा नियन्त्रण अभियान सञ्चालन गर्ने क्रममा भारततर्फ लैजाँदै गरेका गोरु फेला पारेको थियो। सशस्त्र प्रहरीले गोरु नियन्त्रणमा लिएर अघि बढ्न खोज्दा कारोबारीको समूहले बाटो छेकेर विवाद गरेको थियो। स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मीले बल प्रयोग गर्दा झडप भएको हो।

झडपका क्रममा बराइलीको दाहिने खुट्टाको तिघ्रामा लाठी लागेको थियो। चोटका कारण उनको हड्डीसमेत भाँचिएको छ। घाइते बराइलीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याइएको थियो।

घटनापछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका १८ वटा गोरु बीओपी टाँघनडुब्बाको कार्यालयमा राखेको थियो। आवश्यक प्रक्रिया पूरा गरी ती चौपाया भन्सार कार्यालयमा बुझाइएको थियो। तर, नियन्त्रणमा लिइएका गोरु लामो समय सुरक्षाकर्मीकै नियन्त्रणमा रहेनन्। भन्सार कार्यालयमा २ लाख ५५ हजार रुपैयाँ राजस्व बुझाएपछि चौपाया कारोबारीले सबै १८ वटा गोरु फिर्ता लगेका छन्।

यससँगै तस्करीको आशंकामा नियन्त्रणमा लिइएका चौपाया राजस्व असुलीपछि पुनः कारोबारीकै हातमा पुगेका छन्। भारतसँग खुला सीमा जोडिएको झापाका दक्षिणी नाकाहरूबाट चौपायासहित विभिन्न वस्तुको अवैध ओसारपसार हुँदै आएको छ। सीमावर्ती क्षेत्रमा हुने यस्तो गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती, निगरानी र विशेष टोली परिचालन गर्दै आएको छ।

लसुनगञ्ज नाकामा भएको पछिल्लो घटनाले सीमा क्षेत्रमा चौपाया ओसारपसार नियन्त्रणका क्रममा सुरक्षाकर्मी र कारोबारीबीच हुने अवरोध तथा झडपको अवस्थालाई पुनः सतहमा ल्याएको छ। एकातिर तस्करी नियन्त्रण गर्न परिचालित सुरक्षाकर्मीमाथि समूहगत अवरोधको प्रयास भएको छ भने अर्कोतिर नियन्त्रणमा लिइएका १८ गोरु राजस्व बुझाएर पुनः फिर्ता लगिएको घटनाले सीमा क्षेत्रमा हुने चौपाया कारोबारको नियमन र नियन्त्रण प्रक्रियामाथि प्रश्न उठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट