पर्सामा पटका पड्काउँदा ८ वर्षीय बालकको दर्दनाक मृत्युः फलामको पाइपको छर्रा छातीमा लाग्यो

वीरगञ्ज– पर्सामा पटका पड्काउने क्रममा फलामको पाइपबाट निस्किएको छर्रा छातीमा लागेर ८ वर्षीय बालकको मृत्यु भएको छ।

आफ्नै घरअगाडि पटका पड्काइरहेका बालक गम्भीर घाइते भएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

मृत्यु हुनेमा पर्साको पकाहामैनपुर गाउँपालिका–२ निवासी ८ वर्षीय कुन्दन सहनी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार घटना सोमबार बिहान करिब ८ बजे भएको हो। कुन्दनले आफ्नै घरअगाडि फलामको पाइपभित्र पटका राखेर पड्काउने प्रयास गरेका थिए।

पटका पड्किएपछि फलामको पाइपको दुवैतर्फबाट छर्रा जस्तै टुक्रा उछिट्टिएका थिए। त्यही क्रममा पाइपबाट निस्किएको टुक्रा बालकको छातीको बीच भागमा लाग्दा उनी गम्भीर घाइते भएका थिए।

घटनालगत्तै उनलाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल पुर्‍याइएको थियो। तर अस्पतालमा चिकित्सकले बिहान ८ बजेर ४५ मिनेटमा कुन्दनलाई मृत घोषणा गरेको डीएसपी मल्लले जानकारी दिएका छन्।

पटका पड्काउने क्रममा फलामको पाइप प्रयोग गर्दा त्यसबाट निस्किएको टुक्राले बालकको ज्यान गएको प्रारम्भिक विवरणले देखाएको छ। सामान्य खेलजस्तो ठानिएको पटका पड्काउने प्रयास ८ वर्षीय बालकका लागि अन्ततः ज्यानै जाने दुर्घटनामा परिणत भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट