राजा रघुवंशी हत्या प्रकरणमा सबैभन्दा ठूलो खुलासाः पतिको मृत्युपछि सोनमले नै शव भिरबाट फालिन

काठमाडौँ— भारतको उत्तर प्रदेश स्थित इन्दौरका ब्यापारराजा रघुवंशी हत्या प्रकरणमा हालसम्मकै सबैभन्दा ठूलो र चकित पार्ने खुलासा भएको छ। शिलाङका डिपुटी इन्स्पेक्टर जनरल (डीआईजी) डेविस एन आर मार्कले आज तकसँग कुराकानी गर्दै पहिलो पटक यस घटनासँग जोडिएका गहिरा र नयाँ तथ्यहरू सार्वजनिक गरेका छन्।
मार्कका अनुसार, यो हत्या योजनामा सुपारी किलर मात्र होईन, स्वयम राजा रघुवंशीकी पत्नी सोनम पनि सक्रिय रूपमा संलग्न थिइन्। हत्या पश्चात सोनमले सुपारी किलरसँग मिलेर राजा रघुवंशीको शव उठाएर भिरबाट फालेकी थिइन्।
मेघालय प्रहरीको अनुसन्धान अनुसार, शव ब्यवस्थापछि पनि उनी करिव दश किलोमिटरसम्म किलरहरुसँग एउटै सवारीमा यात्रा गरिन। तीन जना सुपारी किलर दुई स्कुटीमा घटनास्थलमा पुगेका थिए। हत्यापछि एउटा स्कुटीमा दुई अभियुक्त र अर्को स्कुटीमा सोनम र एक अभियुक्त सवार भई घटनास्थलबाट निस्किएका थिए।
डीआईजी मार्कका अनुसार, सोनम र उनका प्रेमी राज कुशवाहाले अपराध स्वीकार गरिसकेका छन्। तर, हत्या योजनाकार को हो ? भन्ने प्रश्नमा भने उनीहरुले एकअर्कालाई दोष दिईरहेका छन्। यसले अनुसन्धानलाई थप जटिल बनाएको प्रहरी बताउँछ।
प्रहरीका अनुसार, हत्या भएका बेला राजा रघुवंशी र सोनमसँग चार वटा मोबाइल थिए। तर, अहिलेसम्म केवल एक मोबाइल मात्र फेला परेको छ। बाँकी तीन मोबाइल अझै हराइरहेका छन्। हराईरहेका मोबाइलहरू हत्याको रहस्य सुल्झाउन महत्वपूर्ण कडी हुन सक्ने प्रहरीको अनुमान छ।
मेघालय प्रहरीले ‘अपरेशन हनीमून’ नाम दिइएको अनुसन्धान अभियानका क्रममा घटनाका सबै प्रमुख कडीहरू उजागर गरेको छ। प्रहरीका अनुसार, सोनमले हनीमूनको बहानामा श्रीमान् राजा रघुवंशीलाई शिलाङ नजिकैको सोहरा क्षेत्रको सुनसान स्थानमा लगेकी थिइन्।
पहिले नै तय भइसकेको योजनाअनुसार, सुपारी किलरहरूले त्यहीँ राजाको हत्या गरे। हत्या भएको केही घण्टा पछि सोनमले राजाको फेसबुक अकाउन्टबाट ‘सात जन्मसम्म सँगै’ भन्ने पोस्ट गरिन्। जसले प्रहरीलाई पहिलो चरणमा दिग्भ्रमित पार्ने प्रयास गरेको थियो।
मार्कका अनुसार, प्रहरीले सोनम, राज कुशवाहा र तीन सुपारी किलरहरू आकाश राजपूत, विशाल उर्फ विक्की ठाकुर र आनन्द कुर्मीलाई पक्राउ गरिसकेको छ। प्रहरीले सोनमलाई हत्यारासँगै घटनास्थलबाट केही किलोमिटर टाढा सँगै गइरहेको सीसीटीभी फुटेज, आकाश राजपूतको रगतले भिजेको ज्याकेट, सोनमको रेनकोट र हत्या प्रयोजनमा प्रयोग गरिएको हतियार गुवाहाटी रेलवे स्टेशन नजिक फेला पारेको थियो।
यी सबै प्रमाणहरू प्रस्तुत गरेपछि सोनम प्रहरीको सोधपुछमा नतमस्तक भएकी थिईन। त्यसपछि हत्या योजनामा संलग्न रहेको कुरा स्वीकार गरिन्। यसअघि शिलाङका एसपी विवेकले पनि सोनम हत्यामा प्रत्यक्ष संलग्न रहेको प्रमाणसहित दाबी गरेका थिए। सोनमले जुन ४ मा गाजीपुरमा आत्मसमर्पण गरेकी थिइन्।
सोनम र राज कुशवाहा दुवैले एकअर्कालाई मास्टरमाइन्ड बताउँदै आएकोले अब अनुसन्धानको केन्द्रमा यही प्रश्न छ— ‘सोनम नै आफ्ना श्रीमानको हत्या योजनाको मुख्य मास्टरमाइन्ड हुन्, वा राज कुशवाहा नै सबै षड्यन्त्रको प्रमुख योजनाकार थिए?’
यो पनि,
- राजा रघुवंशी हत्याकाण्ड: सुपारी किलरले चक्कु प्रहार गरिरहे, श्रीमती चुपचाप हेरिरहिन्
- इन्दौरका व्यापारीको हनीमुनमा हत्याः ‘अपरेशन हनीमून’ मार्फत पत्नी सोनम र प्रेमीसहित ५ पक्राउ
- हनिमुनमा पतिको हत्या गरी प्रेमीसँग नेपाल भाग्ने तयारीमा रहेकी सोनम यसरी परिन पक्राउ
- मेघालयमा हनिमुन मनाउन गएका श्रीमानको रहस्यमय मृत्यु, १७ दिनपछि पत्नीसहित चार जना प्रहरी नियन्त्रणमा