सिरहामा परस्त्रीसँग रंगेहात पक्राउ परेका कर्मचारीको कोठाबाट मालपोतका सरकारी कागजात बरामद

राजविराज — परस्त्रीसँग आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ परेका नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सिरहाका अध्यक्ष राजकुमार रायको कोठाबाट प्रहरीले सरकारी कार्यालयका महत्वपूर्ण कागजात बरामद गरेको छ।
सिरहा नगरपालिका–७ मा भाडामा बस्दै आएका रायलाई प्रहरीले बिहीबार एक महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ गरेको थियो। मालपोत कार्यालय सिरहाका कर्मचारी रहेका रायले आफूलाई लामो समयदेखि शारीरिक शोषण गर्दै आएको र मानसिक यातना दिएको भन्दै महिलाले उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेपछि प्रहरीले शुक्रबार राय बस्दै आएको कोठामा छापा मारेको थियो। खानतलासीको क्रममा प्रहरी टोलीले मालपोत कार्यालयसँग सम्बन्धित कैयौं सरकारी कागजातको ठेलीहरू बरामद गरेको जनाएको छ। सरकारी कागजात व्यक्तिगत कोठामा राख्नु गैरकानुनी कार्य हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमार पासमानले बरामद कागजातमाथि अनुसन्धान सुरु गरिएको बताए। ‘रायको कोठामा खानतलासी गर्दा मालपोत कार्यालयका धेरै कागजात भेटिएका छन्। कसरी र किन ती कागजात उनीसँग थिए भन्नेबारे अनुसन्धान भइरहेको छ।’ – डीएसपी पासमानले भने।
खानतलासीका क्रममा प्रहरी टोलीसँग रहेका वडाध्यक्ष विनोद यादवले समेत रायको कोठाबाट सरकारी कागजात बरामद भएको पुष्टि गरे। उनले भने, ‘सरकारी कागजात कर्मचारीको निजी कोठामा राख्न मिल्दैन। तर, रायको कोठामा मालपोतका कैयौं कागजात भेटियो।’
रायलाई अहिले प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। यता, घटनाले मालपोत कार्यालयमा फाइल हेरफेर, फाइल लुकाउने र स्वार्थपूर्तिको शंका थप चुलिएको छ। यस प्रकरणले सरकारी कर्मचारीहरूको आचरण र कर्तव्य पालनामा समेत गम्भीर प्रश्न उठाएको छ।
मालपोत कार्यालयमा कागजात लुकाउने, नागरिकलाई झुलाउने र व्यक्तिगत लाभका लागि प्रणाली दुरुपयोग गरिने आरोप यसअघि पनि पटक–पटक लाग्दै आएको थियो। यो घट्नाले ती आरोपलाई थप पुष्टि गरेको छ।