रास्वपाको हस्ताक्षर अभियानमा मनीषा कोइरालाको समर्थनः प्रचण्डले हस्ताक्षर गरेको फोटोको के हो बास्ताविक्ता ?

राजधानी— सहकारी ठगी प्रकरणमा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा न्यायको माग गर्दै सुरु गरिएको हस्ताक्षर संकलन अभियानमा अभिनेत्री मनीषा कोइरालाले ऐक्यबद्धता जनाएकी छिन्।
बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर मनीषा कोइरालाले लामिछानेमाथि अन्याय भएको भन्दै हस्ताक्षर गरेकी हुन्। उनले भनिन्, ‘म कुनै पार्टीमा आबद्ध छैन, तर एक आमनागरिकको हैसियतमा मलाई लाग्छ कि रवि लामिछानेमाथि राज्यबाट अन्याय भएको छ। त्यसैले आवाज उठाएकी हुँ।’
रास्वपाले लामिछानेको समर्थनमा देशैभर हस्ताक्षर संकलन अभियान चलाइरहेको छ। पार्टीको भनाइ अनुसार लामिछानेको सहकारी प्रकरणसँग कुनै प्रत्यक्ष सम्बन्ध नरहे पनि उनलाई राजनीतिक प्रतिशोधका आधारमा निशाना बनाइएको छ।
यस अभियानमा अभिनेत्री कोइरालामात्र होइन, कलाकार विपिन कार्की, खगेन्द्र लामिछाने, रमेश उप्रेती, किरण केसी, निर्देशक दिपेन्द्र के खनाल लगायत धेरै सांस्कृतिक व्यक्तित्वले पनि हस्ताक्षर गर्दै साथ दिएका छन्।
रास्वपाको यो अभियानप्रति केही कानुनी र राजनीतिक विश्लेषकहरूले भने आपत्ति जनाएका छन्। उनीहरूका अनुसार अदालती प्रक्रियामा असर पर्ने किसिमका सार्वजनिक दबाव सृजना गर्नु न्यायको स्वच्छता र स्वतन्त्रतामाथि हस्तक्षेप जस्तो हुनसक्छ।
यसैबीच, रास्वपाले सामाजिक सञ्जालमा पोस्ट गरेको एक तस्बिरप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ। उक्त तस्बिरमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हस्ताक्षर गरिरहेको देखिन्छ। तर माओवादीले स्पष्ट पारेको छ कि उक्त तस्बिर पुरानो सन्दर्भको हो, रास्वपाको अभियानसँग कुनै सम्बन्ध छैन।
सांसद राजन दाहालले वक्तव्य जारी गर्दै भनेका छन्, ‘रास्वपाले हाम्रो अध्यक्ष कमरेड प्रचण्डले हस्ताक्षर गरेको भनी फैलाएको सूचना पूर्णतः भ्रामक र असत्य हो। उक्त तस्बिरको दुरुपयोग बन्द गर्न माग गर्दछौं।’