उदयपुरमा वडाध्यक्षकै नेतृत्वमा सहकारीमा लुटः एक करोड अपचल, कोही सुन्दैन पीडितको करुण चित्कार

बेल्टार (उदयपुर) – उदयपुरको चौदण्डीगढी नगरपालिका–१ स्थित विशासय कालिका बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरूको धनिपुर्जा धितो राखी झण्डै एक करोड रुपैयाँ ऋण लिएर हिनामिना गरेको खुलासा भएको छ।
नेपाल सरकार अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०८२ साल जेठ २२ गते एक सूचना जारी गर्दै २१ दिनभित्र बाँकी ऋण, ब्याज र हर्जाना तिर्न निर्देशन दिएपछि संस्थाभित्र भएको आर्थिक अपचल विस्तारै सतहमा आउन थालेको हो। सरकारी कोषमार्फत आएको ८० लाख रुपैयाँ ऋणसहित आन्तरिक कोषबाट उठाइएको सदस्यहरूको बचत रकम पनि दुरुपयोग गरिएको पीडितहरू बताउँछन्।
सहकारीको रकम हिनामिना गर्नेमा निर्वाचित वडाध्यक्षसमेत रहेका सहकारीका अध्यक्ष सिताराम राई, सचिव एवं शिक्षक ईश्वरप्रसाद दाहाल, अर्का शिक्षक जागिरमान राई, लेखा समिति संयोजक (पूर्वप्रधानाध्यापक) लगायतका पदाधिकारीहरू रहेको खुलेको छ। उनीहरूले आफ्नो पदको आडमा सहकारी सदस्यहरूको नाम बेचेर ऋण निकाली मनपरी खर्च गरेको, व्यक्तिगत स्वार्थमा लगानी गरेको र लेखा प्रणालीसमेत छल्ने प्रयास गरेको आरोप लागेको छ।
पीडित शेयर सदस्यहरुले सामाजिक सञ्जाल र सार्वजनिक पोस्टमार्फत पटक–पटक सहकारी व्यवस्थापन र प्रहरी प्रशासनलाई खबरदारी गर्दै आए पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। यस विषयमा इलाका प्रहरी कार्यालय बेल्टारमा पटक–पटक छलफल हुँदै ‘विभिन्न भाका राखेर अपचलन भएको भनिएको रकम जम्मा गर्ने’ सहमति गर्दै तोड्दै गरेको खुलेको छ।
त्यसपछि सहकारीका जिम्मेवार ब्यक्तिहरू सम्पर्कविहीन हुने, मोबाइल स्वीच अफ गर्ने र सहमति पालना नगर्ने गरेको पीडितको गुनासो छ। अन्तिम पटक २४ असारमा इलाका प्रहरी कार्यालय बेल्टारमै भएको सहमतिअनुसार असार मसान्तसम्म सम्पूर्ण हिसाव मिलान गरी रोक्का भएका खाता फुकुवा गरिने सहमति भएको थियो। तर, त्यो सहमति पनि कार्यान्वयन नभएपछि पीडितहरु आत्तिएका छन्। यसैबीच, सहकारी पीडितहरूले यदि चाँडै समस्याको समाधान नभएमा सहकारी पदाधिकारीहरूको नाम, फोटो, कति रकम कहाँ लगानी गरिएको विवरण र भ्वाईस रेकर्डसहित सार्वजनिक गर्ने चेतावनी दिएका छन्। एक जना पीडित भन्छन्–‘हामीले गल्ती गरेका छैनौँ, तर सजाय भोग्दैछौं। अब चुप लागेर बस्दैनौं।’
उता, ठगीकै समान प्रकृतिको प्रकरणमा उदयपुरकै त्रियुगा नगरपालिका–१० मा एक जना प्रतिवादी अंगिस श्रेष्ठ पक्राउ परिसकेका छन्। उनलाई महिला जनजागृति सहकारी संस्थाबाट स्वरोजगार कोषको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ। उनी स्वरोजगार कोषकै जिल्ला प्रतिनिधि भएको खुलेको छ।
तर विशासय सहकारी प्रकरणमा भने इलाका प्रहरी कार्यालय बेल्टारको भूमिकामाथि पीडितले प्रश्न उठाएका छन्। ‘के न्याय पनि अनुहार र सार्वजनिक पहिचान हेरेर गर्ने परिपाटीको विकास गर्न खोजिएको हो ? यो सवै हेर्दा प्रशासनले पनि रकम अपचलन गर्नेहरुलाई नै मौन समर्थन गरेको संकेत गर्छ।’– पीडितहरुको भनाई छ।
अब ढिलाइ नगरी सहकारीको रकम हिनामिनामा संलग्न पदाधिकारीहरूमाथि छानबिन, सम्पत्ति रोक्का र कारबाही गर्नु पर्ने उनीहरुको माग छ। सहकारीको नाममा जनताको पसिना चुसेर प्रतिष्ठा आर्जन गर्नेहरू अब समाज र कानुन दुवैको कठघरामा उभिनु पर्ने एक पीडितले वताए।
समस्या समाधान नगरे मुद्दा दर्ता गरेर कारबाही गर्ने चेतावनी दिएका छौँः प्रहरी
इलाका प्रहरी कार्यालय, बेल्टारका इन्स्पेक्टर बबिन राईले समस्या समाधानका लागि प्रहरीले क्षमताभन्दा माथि उठेर पहल गरिरहेको वताए। ‘ऋण लिँदाको समयमा समितिका सबै सदस्यहरूको सहमति थियो। सबैले हस्ताक्षर पनि गरेका छन्। यो घटना करिब डेढ–दुई वर्ष पुरानो हो। पछि रकम कसरी परिचालन गरियो, कसले चलायो, कसलाई चित्त बुझेन भन्ने विषयमा मनमुटाव सुरु भएपछि समस्या बढेको देखिएको छ।’ ईन्स्पेक्टर राईले भने।
युवा स्वरोजगार कोषका कर्मचारीहरू अनुगमनका लागि आउँदा पनि सहकारीको सञ्चालक समितिका पदाधिकारीहरूको व्यवहार राम्रो नदेखिएको पनि प्रहरीले जानकारी दिएको छ। इन्स्पेक्टर राई भन्छन्–‘कोहीले फोन नउठाउने, कोहीको मोबाइल स्विच अफ हुने अवस्था देखिएपछि कोषले सबै खाताहरू बन्द गर्यो। त्यसपछि समितिका केही सदस्यहरूले संयुक्त रूपमा हामीकहाँ निवेदन दिनुभएको छ।’
प्रहरीमा जानकारी आउनासाथ अध्यक्षसहित सम्बन्धित पदाधिकारीहरूलाई सम्पर्कमा ल्याएर छलफल गराएको राईको भनाई छ। ‘हामीले स्पष्ट रूपमा भनेका थियौं – समयमै समस्या समाधान गर्नुहोस्, नत्र मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाइन्छ। त्यसपछि उहाँहरू सक्रिय हुनुभयो।’
प्रहरीका अनुसार कोषको ऋण चुक्ता गर्न करीब १० लाख रुपैयाँ जति अपुग रहेको बताइएको थियो। ‘त्यो रकमको व्यवस्थापन भइसकेको हामीले जानकारी पाएका छौं। अहिले उहाँहरू (अध्यक्ष लगायत) काठमाडौंमा हुनुहुन्छ र खाता फुकुवा गरेर मात्रै फर्कने बताउनुभएको छ।’– इन्स्पेक्टर राईले थपे।
बदमासी गरेका छैनौं, दुई–तीन दिनमा समस्या समाधान हुन्छः अध्यक्ष राई
वडाअध्यक्ष समेत रहेका संस्थाका अध्यक्ष राईले भने दुई–तीन दिनभित्र समस्या समाधान गरिसक्ने गरी आफु लागेको वताए। ‘म अहिले काठमाडौंमै छु। ऋण चुक्ता गर्ने प्रक्रियामै लागेको छु। केही रकम अपुग थियो, त्यसको व्यवस्थापन पनि गर्दैछु। हामीले कुनै बदमासी गरेका छैनौं, रकम हिनामिना पनि भएको होइन।’– उनले भने।
ऋण चुक्ता गर्ने समय अझै बाँकी रहेको भन्दै अध्यक्ष राई भन्छन – २०८३ को चैतसम्ममा चुक्ता गरे पुग्ने हो। तर किस्ता बुझाउने क्रममा आवश्यक रकम जति बुझाउन सकिएन। बुझाउँदै नवुझाएको पनि होइन, तर कोषले तोकेको अनुपात अनुसार रकम पुगेन। त्यसपछि संस्थाको खाता नै बन्द गरियो। अब खाता खोल्न ऋण पुरै चुक्ता गर्नु पर्ने सर्त आएकोले समस्या भएको हो।
‘मैले यो विषयलाई गम्भीरतापूर्वक लिएको छु। दुई–तीन दिनभित्र सम्पूर्ण समस्याको समाधान गरेर खाता फुकुवा गरी घर फर्किने गरी काम गरिरहेको छु।’– अध्यक्ष राईले भने।