जनकपुरको गेष्टहाउसमा महोत्तरीका युवकको हत्या अभियोगमा २४ वर्षीया जुली झा पक्राउ

जनकपुर — जनकपुरधामस्थित होटल एसपी एण्ड गेष्टहाउसमा शनि भनिने विमलेश यादवको हत्या आरोपमा एक युवती पक्राउ परेकी छन्।

धनुषा प्रहरीले महोत्तरीको बलवा नगरपालिका–७ की २४ वर्षीया जुली झालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। कर्तव्य ज्यान मुद्दामा उनीमाथि अनुसन्धान सुरु गरिएको धनुषाका डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

मृतक महोत्तरी गाउँपालिका–१ पर्साका २८ वर्षीय विमलेश यादव (शनि)लाई गेष्टहाउसको कोठामा छुरा प्रहार गरी एकतल्लाबाट तल खसालिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका यादवको आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो।

अनुसन्धानको क्रममा घटनामा जुली झाको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ। घटनापछि उनी गेष्टहाउसबाट भागेको दृश्य सीसीटिभी क्यामेरामा कैद भएको थियो।

प्रहरीका अनुसार शनिबार राति ९ बजेर ५५ मिनेटमा शनि र झा गेष्टहाउसमा एकसाथ प्रवेश गरेका थिए। उनीहरूबीचको सम्बन्ध र हत्या हुनुका कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट