सिरहामा नवजात शिशुको शव फेला, अनुसन्धान जारी

लहान– सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित बाबुराम खोलाको किनारमा एक नवजात शिशुको शव फेला परेको छ। बुधबार बिहान करिब ९ बजे स्थानीय बासिन्दाले खोलाको डिलमा रहेको झाडीभित्र कपडामा बेरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार मृत शिशु बालक भर्खरै जन्मिएको देखिन्छ। घटनास्थलमा मुचुल्का तयार गरिएको छ। प्रहरीले घटनाको संवेदनशीलता ध्यानमा राख्दै शिशु फाल्ने व्यक्तिको पहिचान र खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ।
शव फेला परेको स्थान वरपरको क्षेत्रका बासिन्दासँग सोधपुछ भइरहेको र थप प्रमाण संकलनको कार्य जारी रहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया