विरामी भन्दै अस्पताल पुर्याईकी लक्ष्मी कुमालको हत्या भएको खुलासाः छोरीको बयानपछि श्रीमान पक्राउ

बुटवल– गत शनिबार मृत्यु भएको भनिएकी बुटवल उपमहानगरपालिका–३ पुलचोक बस्ने लक्ष्मी कुमालको हत्या उनको खुलासा भएको छ। हत्या आरोपमा प्रहरीले उनकै श्रीमान प्रेमबहादुर कुमाललाई पक्राउ गरेको छ।
शनिबार बिहान करिब ११ बजे बिरामी परेको भन्दै श्रीमानले लक्ष्मीलाई लुम्बिनी प्रादेशिक अस्पताल पु¥याएका थिए। तर, चिकित्सकले लक्ष्मीको मृत्यु भइसकेको घोषणा गरेका थिए। प्रारम्भमा सामान्य मृत्युको घटना जस्तो देखिए पनि पोस्टमार्टम रिपोर्ट र परिवारको बयानपछि घटना हत्यामा परिणत भएको हो।
प्रहरीका अनुसार गुल्मी इश्मा गाउँपालिका–६ घर भई बुटवलमा बस्दै आएका प्रेमबहादुरले शुक्रबार राति करिब ११ बजे श्रीमतीलाई छाताको रड र ढोकाको आग्लाले प्रहार गरी गम्भीर कुटपिट गरेका थिए। मरणासन्न भएकी लक्ष्मीलाई उनले रातभरि घरमै राखे र शनिबार बिहान मात्र बिरामी परेको बहाना गर्दै अस्पताल लगेका थिए।
पोस्टमार्टमको प्रारम्भिक नतिजामा लक्ष्मीको शरीरभित्र गहिरो चोटपटक देखिएपछि अनुसन्धान अघि बढाइएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आमाको मृत्युपछि उनकी १३ वर्षीया छोरीले ‘बाबुले आमालाई कुटपिट गरेको’ बयान दिएकी थिईन।
त्यसपछि प्रहरीले प्रेमबहादुरलाई पक्राउ गरेको हो। मृतक लक्ष्मीका १० महिना, ८ वर्ष र १३ वर्षका तीन छोरी छन्। मृतकका भाइ कमल मुखियाले दिदीको हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।
प्रहरीले प्रेमबहादुरलाई ७ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाले घट्नाको अनुशन्धान भईरहेको जानकारी दिएका छन्।