सप्तरीमा राजा–महाराजालाई समेत पछि पार्ने जनप्रतिनिधिको विलासिताः ‘सोफा मसाज’ ले गाउँपालिका अध्यक्ष भाइरल (भीडीओसहित)

राजविराज– सामाजिक सञ्जालमा पछिल्लो दुई दिनदेखि सप्तरीको एउटा भीडीओ भाईरल भएको छ। भीडीओमा एक जना मानिस सोफामा सुतेका छन् भने उनको गोडा मुनि बसेर एक जना मानिस उनको खुट्टामा मसाज गरिरहेका छन्।
बताईए अनुसार यो भीडीओ अग्निसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको कार्यकक्ष हो। लम्पसार परेर सुतेका मानिस अरु कोही नभएर गाउँपालिका अध्यक्ष चौधरी नै हुन। मालिकलाई खुसी पार्न र केही दाम कमाउने लोभले जमिनदार/मालिकलाई झै खुट्टा मालिस गरिरहेका ब्यक्ति भने सोही गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष हरी खंग हुन।
जनताको सेवा, विकास निर्माण र प्रशासनिक जिम्मेवारी सम्हाल्ने बाचासहित निर्वाचित भएका जनप्रतिनिधिको अवस्था भीडीओमा हेर्दा कथामा सुनेका÷पढेका कुनै राजा/महाराजाको कथा भन्दा कम छैन। कथामा राजा/महाराजाले शरीर मालिस गराउने, पंखा हल्लाउन लगाउने, तेल लगाउन लगाउनेलगायतका काम गराउँछन्। तर, जनताको सेवक बन्न चुनाव जितेका जनप्रतिनिधिको यो तहको ऐस आराम देख्दा ति राजा÷महाराजाले पनि मुख छोप्नु पर्ने अवस्था छ।
एसीसहितको उक्त कोठामा दुई वटा टेवल समेत राखिएका छन्। कोठाको अवस्था हेर्दा भीडीओ अध्यक्षको कार्यकक्ष कै हो भन्न सकिने अवस्था छ। सामाजिक सञ्जालमा भीडीओ सार्वजनिक भएपछि गाउँपालिका अध्यक्ष चौधरी र वडा अध्यक्षको खंगको चौतर्फी आलोचना भईरहेको छ।
तर, गाउँपालिका अध्यक्ष चौधरीले भने बुधबार एक विज्ञप्ति जारी गर्दै उल्टै आपत्ति प्रकट गरेका छन्। आफु अस्वस्थ्य भएको अवस्थामा वडाध्यक्षले गरेको मानवीय सहयोगलाई भ्रमित गरिएको उनको भनाई छ। खुट्टा मालिस गर्ने वडाध्यक्ष खंग आफनो भनिजो भएको दावी गरेको चौधरीले मधेशी समुदायमा टोल–समुदाय र छरछिमेकमा एकअर्कालाई सहयोग गर्ने तथा अपनत्व लिन परम्परा अनुसार मालिस गरिएको जनाएका छन्।
उनले सत्यतथ्य नबुझी आवश्यकता भन्दा बढि गलत मनसायले टिकाटिप्पणी गरिएको भन्दै आपत्ति जनाएका छन्। ‘यसरी टिकापिटप्पणी गर्नाले सिङ्गो गाउँपालिकाको अस्तित्व, स्वाभिमान, कार्यसम्पादन, जनप्रतिनिधि, कर्मचारी, प्रशासनलगायतका विषयमा प्रश्न चिन्ह खडा गरेकोले त्यस्तो नगरिदिनु हुन अनुरोध गर्दछु।’– उनले भनेका छन्।
भीडीओ गत असोज ५ गते गाउँपालिकाकै भएको पनि उनले प्रष्ट पारेका छन्।