प्रचण्ड–कल्याणको गोप्य सौदा पुनर्जिवित, यसरी हुँदैछ श्रीमानलाई प्रधानमन्त्री बनाउने चलखेल
काठमाडौँ— नेपालको सत्ता–समीकरण फेरि पनि न्यायालय र राजनीतिक नेतृत्वबीचको ‘गोप्य सम्बन्ध’को घेरामा तानिएको संकेत देखिन थालेको छ। पत्रकार प्रकाश तिम्सिनाले सार्वजनिक गरेको लामो फेसबुक स्ट्याटसले यो चर्चा फेरि तातो बनाएको छ।
उनको दाबी अनुसार, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठबीच विगतदेखि चल्दै आएको राजनीतिक सम्झौता, असफल योजना र पुरानो वाचा अहिले पुनः सक्रिय भएको छ। तिम्सिनाको स्ट्याटस अनुसार, प्रचण्डले पहिले नै कल्याण श्रेष्ठलाई राष्ट्रपति बनाउने योजना बनाएका थिए।
रामचन्द्र पौडेल राष्ट्रपति हुनुअघि नै जनार्दन शर्मामार्फत मिडियामा ‘स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति बन्न सक्छन’ भन्ने बहस सुरु गराइएको थियो। यो बहसको उद्देश्य कल्याण श्रेष्ठलाई राष्ट्रपति बनाउन सकिन्छ कि सकिँदैन भन्ने जनमत परीक्षण थियो। तर, कांग्रेस सभापति शेरबहादुर देउवाले ‘राष्ट्रपति दलको व्यक्ति हुनुपर्छ’ भनेर अस्वीकार गरेपछि योजना त्यहीँ समाप्त भयो र अन्ततः रामचन्द्र पौडेल नै राष्ट्रपति बने।
प्रचण्डले जेनजी आन्दोलनपछि पनि कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउन खोजे। तर, कल्याण श्रेष्ठ ‘संविधान कोल्याप्स गरेर प्रधानमन्त्री बन्न चाहान्थे’। नत्र प्रधानमन्त्री बने पनि संसद पुनस्र्थापना सर्वोच्च अदालतले गराउन सक्छ भन्ने उनले बुझि सकेका थिए, उनी अझै पनि ढुक्क छन, संसद पुनस्र्थापना हुन्छ। ‘जब संसद पुनस्र्थापन हुन्छ भने म किन केही दिनका लागि प्रम बन्ने?’ भन्ने वुझेकैले प्रचण्डले भने पनि उनी प्रधानमन्त्रीका लागि तयार नभएको तिम्सिनाको भनाई छ। ‘कल्याण श्रीमानले नमानेपछि मात्रै सुशिला कार्की प्रधानमन्त्री भएकी हुन्।’– तिम्सिनाले लेखेका छन्।
हालका घटनाक्रममा भने कल्याण श्रेष्ठ फेरि चर्चामा आएका छन्। तिम्सिनाका अनुसार, उनले अहिले ‘संविधान च्यात्ने’, ‘संसद पुनस्र्थापना गराउने’ र ‘राष्ट्रिय सहमतिको सरकार’ बनाउने तयारी गरेका छन्। एभरेष्ट होटलबाट नै यस विषयमा बहस सुरु भइसकेको र उनले आफ्ना नजिकका न्यायिक तथा राजनीतिक सर्कलमार्फत माहोल बनाउन थालेको दाबी छ। तिम्सिना लेख्छन् — ‘कल्याण श्रीमान अब जेन–जी सरकार हटाउने, संसद पुनस्र्थापना गराउने र देउवालाई नेतृत्वमा ल्याउँदै राष्ट्रिय सहमतिको सरकार बनाउने दिशामा छन्।’ यो योजना पनि प्रचण्डसँगको पुरानो लेनदेनकै विस्तार भएको वुझाई छ।
‘मेरो चीनजानको कम्तिमा ३ टोलीले कल्याण श्रीमानलाई भेटेका छन्। यी तीनै टोलीको कुरा सुन्दा मेरो ब्यक्तिगत निष्कर्ष र विश्लेषण छ, पहिलो उनको मुख्य मक्सद ‘यो संविधान च्यात्ने नै देखिन्छ। दोस्रो संसद पुनर्सथापना गराएर जेनजी आमोई हटाउने र तेस्रो ओलीलाई हटाएर देउवालाई प्रम बनाउने। अदालतले भन्ने गरेको आवाश्यक्ताको सिद्वान्तमा टेकेर जसरी ओली हटाएर देउवालाई परामादेशमार्फत प्रधानमन्त्री बनाईएको थियो, त्यसैगरी राष्ट्रिय सहमतिको सरकार बनाउने र त्यो सरकारको नेतृत्व आफैँले गर्ने।’– तिम्सिनाले लेखेका छन्।
यो योजनाको सुरुवात समेत भएको उनले संकेत गरेका छन्। ‘माहौल सिर्जना गर्न उनले जेन जीको नाममा एभरेष्ट होटलवाट राष्ट्रिय सहमतिको सरकारको बहस सुरू गराई सकेका पनि छन्। हिजो नै यसवारेमा मलाई कल्याण श्रीमानका एक पुर्व सहकर्मी न्यायधिसले जानकारी पनि दिएका थिए’ उनले भनेका छन्–‘ती श्रीमानले भनेका नै थिए–अब एक दुई दिनमा राष्ट्रिय सहमतिको सरकारको बहस सुरू हुन्छ। तर, २४ घन्टा नबित्दै बहस सुरू भयो।’
तिम्सिनाको स्ट्याटसले नेपालका उच्च राजनीतिक र न्यायिक तहबीच चल्ने ‘सौदाबाजी र रणनीतिक सहकार्य’को आरोप सार्वजनिक गरेको छ। कल्याण श्रेष्ठ न त राष्ट्रपति बन्न सके, न प्रधानमन्त्री। तर प्रचण्डसँगको पुरानो वाचा र शक्ति–समीकरणका खेलले अहिले फेरि नयाँ रुप लिएको संकेत उनले दिएका छन् — जहाँ संविधान र सत्ता फेरि एकपटक ‘राजनीतिक प्रयोगशाला’ बन्ने जोखिम देखिन्छ।
किन कल्याण श्रीमानप्रति उदार छन प्रचण्ड ?
प्रचण्डले कल्याण श्रेष्ठसँग यति उदारता देखाउनुको कारण भने रोचक छ। यसमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको घट्ना जोडिन्छ। प्रचण्ड ओलीलाई सत्ताच्युत गराउन चाहन्थे। तर, कानुनी अड्चन उनका लागि बाधक वन्यो। संविधान अनुसार संसदले बनाएको प्रधानमन्त्री संसदले मात्रै हटाउन सक्ने, निर्वाचित भएको २ बर्षपछि मात्रै अविश्वासको मतले हटाउन सक्ने ब्यवस्था छ। यसैगरी, प्रधानमन्त्री स्वयमले राजिनामा दिएमा वा ५ बर्षे कार्याकाल सकिए पछि मात्रै प्रधानमन्त्री नरहने संबैधानिक ब्यवस्था छ।
‘ओली त्यो बेला यी सबै अवस्थामा बलियो थिए। संसदवाट हटाउन नसक्ने भए पछि तत्कालिन नेकपाको ओली बिरोधी पक्ष र कांग्रेसका केही ब्यक्तिहरुको सल्लाहमा सर्वोच्च अदालतवाट मात्रै हटाउन सकिने अन्तिम उपाय खोजियो। सर्वोच्च मिलाउने जिम्मा प्रचण्डलाई दिईएको थियो’ तिम्सिनाले लेखेका छन्–‘रिटायर्ड भए पनि सर्वोच्चवाट हुने राजनीतिक फैसालामा त्यतिबेलासम्म कल्याण श्रीमानको रजगज चल्दै आएको थाहा पाएका प्रचण्डले उनलाई प्रस्ताव गरे–जसरी पनि ओली हटाउनु पर्यो, यदी हटाई दिनु भयो भने तपाईलाई बिद्या भण्डारीपछि राष्ट्रपति बनाउँछौं।’
ओली बिरूद्वको समुहको नेतृत्व गरिरहेका प्रचण्डले ‘कन्भिन्स’ गराएपछि कल्याण श्रीमानले मुख्यरुपमा सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश ईश्वर खतिवडालाई प्रयोग गरेर संसद पुनर्स्थाना गराएको तिम्सिनाको भनाई छ। संबिधानका धारा अनुसार संसदवाट हटाउन नसकिएका ओलीलाई ‘आवाश्यक्ताको सिद्वान्त अनुसार’ हटाएर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतवाट परमादेश दिलाउन सफल भएको उनले दावी गरेका छन्।
‘यो सबै कल्याण श्रीमान र प्रचण्डको डिजाईनमा एल्लो प्यागोडा होटल, कान्तिपथमा भएको थियो, जुन न्यायिक र उपल्लो क्षेत्रमा ‘एल्लो प्यागोडा काण्ड’ ले सुपरिचित छ’ तिम्सिना लेख्छन्–‘त्यही बैठकमा सहभागी एक बरिष्ठ वकिलले मलाई त्यही बेला भनेका थिए–ओली हटाएर देउवालाई परामादेश दिने फैसाला नै एल्लो प्यागोडामा लेखिएको थियो, पढने काम मात्र सर्वोच्च अदालतवाट भएको हो। खुलासा गरिदिनु पर्यो। मैले तस्विर देऊ भने दिएनन। तर दृश्य चित्र सबै देखाएका थिए।’


