जंगलराजको भाष्य कि राजनीतिक प्रोपोगान्डा? आफ्नै जिल्लालाई बदनाम गरेर ‘उद्धारकर्ता’ बन्न खोज्दै सीके राउत
राजविराज– प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा जनमत पार्टीका अध्यक्ष तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार डा. सीके राउतले सार्वजनिक गरेको भिडियो सन्देशले विकासको बहसभन्दा बढी विवाद र प्रश्न जन्माएको छ।
उनले सप्तरीलाई ‘जंगलराज, गुण्डाराज, दमन–शोषण र मुद्दामामिलाको जिल्ला’ का रूपमा चित्रित गर्दै आफूलाई त्यस अवस्थाबाट ‘आधुनिक र अन्तरीक्ष युगतर्फ लैजाने’ विकल्पको रूपमा प्रस्तुत गरेका छन्।
तर विडम्बना के छ भने, आफ्नै जन्मथलो र मतदाताको भूमिलाई ‘जंगलराज’ भनेर व्याख्या गर्दै मत माग्ने शैलीले नै उनको राजनीतिक दाबीमाथि गम्भीर शंका उब्जाएको छ। एउटा उम्मेदवारले आफ्नो जिल्ला बदनाम गरेर सहानुभूति बटुल्न खोज्नु विकासको दृष्टि हो कि असफलताको आवरण, यही प्रश्न अहिले सप्तरीमा व्यापक रूपमा उठ्न थालेको छ।
राउतको भाषणमा आरोपको ओइरो छ— नेताहरू असुलीमा लाग्छन्, उद्योगी–व्यवसायी धम्क्याइन्छन्, झुठा मुद्दा हालिन्छ, सामन्तवाद छ, गुण्डाराज छ। तर ती आरोपलाई पुष्टि गर्ने कुनै तथ्यांक, अध्ययन वा आधिकारिक आधार उनले प्रस्तुत गरेका छैनन्। उनले ‘हामी आएपछि सुधार भयो’ भने पनि कति सुधार भयो, कति अपराध घट्यो, कति मुद्दा कम भए, रोजगारी कति बढ्यो, लगानी कति भित्रियो भन्ने कुनै ठोस डाटा सार्वजनिक गरेका छैनन्।
यथार्थ भने अर्कै चित्र देखाउँछ। जिल्ला अदालत र प्रहरी कार्यालयको अभिलेख हेर्दा सप्तरी अझै पनि मुलुककै धेरै मुद्दा दर्ता हुने जिल्लामध्ये दोस्रो वा तेस्रो स्थानमै छ। दाइजोका कारण केही महिनाअघि मात्रै दुई महिलाको हत्या भएको जस्तो संवेदनशील घटनामा समेत नेतृत्वको स्पष्ट उपस्थिति र पहल देखिएन। सामाजिक सुरक्षा र कानुनी सुधारको दाबी गर्ने नेतृत्व त्यस्ता घटनामा मौन देखिनु आफैंमा प्रश्नको विषय बनेको छ।
राउतले ‘सामन्तवाद’ र ‘तानाशाही’ विरुद्ध भाषण गर्छन्। तर उनको आफ्नै पार्टीभित्र देखिएको अभ्यास भने फरक कथा सुनाउँछ। नेतृत्वशैलीमाथि ‘परिवारवाद’ र ‘केन्द्रीकृत नियन्त्रण’ को आरोप लगातार चर्किँदै आएको छ। दाजु जयकान्त राउतलाई राष्ट्रिय योजना आयोगमा स्थान दिनेदेखि भतिजा, भाञ्जा र नजिकका आफन्तलाई पार्टी तथा सरकारका विभिन्न पदमा नियुक्त गरिएको चर्चा राजनीतिक वृत्तमै खुला रहस्यजस्तै छ।
आन्तरिक स्रोतहरूका अनुसार कम्तीमा डेढ दर्जनभन्दा बढी आफन्त र निकट व्यक्तिहरू विभिन्न जिम्मेवारीमा पुगेका छन्। पार्टी निर्माणमा वर्षौं योगदान दिएका कार्यकर्ता भने पाखा लगाइएको छ, असहमति जनाउनेहरूमाथि स्पष्टीकरण सोध्ने, बैठकमा बोल्न नदिने र निर्णय एकलौटी गर्ने प्रवृत्तिले आन्तरिक लोकतन्त्र नै संकुचित भएको गुनासो छ।
सार्वजनिक रूपमा ‘लोकतन्त्र’ को भाषण र भित्री संरचनामा ‘एकल नियन्त्रण’ को अभ्यासबीचको विरोधाभास धेरैलाई असहज बनाइरहेको छ। उनको भाषणको अर्को पाटो ‘हावा हावामा आएका शक्ति’ भन्दै रास्वपामाथि कटाक्ष गर्नु हो। तर आफ्ना एजेन्डा स्पष्ट पार्नुभन्दा प्रतिद्वन्द्वीलाई कमजोर देखाएर मत माग्ने रणनीति पनि सकारात्मक राजनीति मानिँदैन।
मतदाताले आरोपभन्दा बढी समाधान खोजिरहेका बेला राउतको भाष्य भावनात्मक ध्रुवीकरणमै सीमित देखिन्छ। सप्तरीको इतिहास केवल मुद्दामामिला र अशान्तिको होइन। यो जिल्ला आन्दोलन, बलिदान र अधिकारको लडाइँले चिनिएको भूगोल पनि हो। सामाजिक सञ्जालमा निरज मुक्तिले लेखेको टिप्पणी अहिले धेरैको मनको आवाजजस्तै सुनिन्छ— ‘जो उम्मेदवार आफ्नै जिल्लाको अपमान गर्छ, उसले जनताको सम्मान कहिले गर्छ?’
यो प्रश्न सानो होइन। किनकि विकासको राजनीति भनेको आफ्नै माटोलाई बदनाम गरेर होइन, समस्या स्वीकार्दै समाधानको स्पष्ट खाका प्रस्तुत गरेर गर्ने कुरा हो। राउतले आफूलाई ‘परिवर्तनको अभियन्ता’ भन्छन्। तर परिवर्तनको मापन नाराले होइन, परिणामले हुन्छ। जिल्लाको समग्र अवस्था उस्तै रहँदा, योजनामा कमीशनको आरोप लागिरहँदा, पारदर्शितामाथि प्रश्न उठिरहँदा र नेतृत्वप्रति अविश्वास बढिरहँदा ‘उद्धारकर्ता’ को छवि स्वतः स्थापित हुँदैन।
अन्ततः मतदाताले भावनात्मक भाषण सुन्ने कि ठोस उपलब्धि खोज्ने— यही निर्णायक प्रश्न हो। सप्तरीलाई ‘जंगलराज’ भन्दै कथा सुनाएर मत माग्ने राजनीति कति विश्वसनीय हुन्छ, त्यसको फैसला अब मतपेटिकाले नै गर्नेछ।
