सीआईबीको असई बनेर मधेश लुट्दै हिँड्ने महिला पक्राउः नक्कली प्रहरीको सेटिङमा लाखौँ ठगी
राजविराज— प्रहरीको पोशाक, पद र नामको डर देखाई महिनाौंदेखि मधेशमा ठगी धन्दा चलाउँदै आएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै ठगी गर्ने सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर घर भएकी ३५ वर्षीया निर्मला महतोलाई प्रहरीले फक्राउ गरेको हो।
महतोलाई चन्द्रपुर नगरपालिका–६ बाट आइतबार पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी रुपा लाबुङले जानकारी दिए। महतोले कहिले ‘नेहा’, कहिले ‘निशा’ त कहिले ‘पुनम कुमारी’ नाम प्रयोग गर्दै आफूलाई सीआईबीमा कार्यरत प्रहरी अधिकृत बताउने, सरकारी पहुँच र भन्सार सेटिङको धाक लगाउने र त्यसकै आडमा सर्वसाधारणलाई योजनाबद्ध रूपमा ठग्दै आएकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यो सामान्य ठगी होइन, पहिल्यै विश्वास जित्ने, नक्कली पहुँच देखाउने र त्यसपछि रकम असुल्ने सुनियोजित रणनीति थियो। उनी लक्षित व्यक्तिसँग मित्रता गाँस्ने, सरकारी कर्मचारीसँग गहिरो सम्बन्ध रहेको दाबी गर्ने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम उठाउने शैलीमा सक्रिय थिइन्।
लालबन्दी नगरपालिकाका राजेश्वर साहसँग उनको चिनजान एक वर्षअघि सर्लाहीको नवलपुर बजारमा भएको थियो। त्यसपछि उनले आफू मलंगवा भन्सारका कर्मचारीसँग निकट सम्बन्ध भएको र भन्सारबाट स्कार्पियो गाडी छुटाइदिने भन्दै प्रलोभन दिएकी थिइन्। सरकारी शक्ति र प्रहरी पदको नाम सुनेपछि राजेश्वर विश्वस्त भए। त्यही विश्वासको फाइदा उठाउँदै उनले सक्कल नागरिकता, फोटो र कागजातसमेत लिई १ लाख ५० हजार रुपैयाँ असुलेकी थिइन्। तर न गाडी छुट्यो, न पैसा फिर्ता आयो।
चन्द्रपुरका सन्तोषबहादुर विश्वकर्मा पनि त्यस्तै जालमा परे। उनले सञ्चालन गरेको ज्वेलर्स पसलबाट खरिद गरिएको सुनचाँदीका गरगहनाको २ लाख ७४ हजार रुपैयाँ भुक्तानी नगरी उनी फरार भइन्। ‘सरकारी मान्छे’ भन्दै पैसा माग्नसमेत हिच्किचाउनुपरेको पीडितको गुनासो छ।
गुजरा नगरपालिकाका विजय साह बनियाँसँग उनले घरायसी समस्या र आकस्मिक खर्चको कथा सुनाएर ५ लाख रुपैयाँ सापटी लिइन्। मानवीय सहानुभूति र विश्वासलाई समेत उनले ठगीको हतियार बनाएको देखिन्छ।
यति मात्र होइन, प्रवीण साहको किराना पसलबाट उधारोमा सामान लगिन्, स्कार्पियो गाडी भाडामा लिएर १ लाख २६ हजार रुपैयाँ नतिरी सम्पर्कविहीन भइन्। एउटै व्यक्तिले फरक–फरक बहाना र फरक–फरक परिचय प्रयोग गरी चारैतिरबाट रकम उठाएको तथ्यले यो ‘एकल ठगी’ भन्दा पनि ‘सञ्चालित ठगी ढाँचा’ भएको संकेत गर्छ।
सबैभन्दा गम्भीर पक्ष के हो भने उनले प्रहरी संगठनकै नाम र सीआईबी जस्तो संवेदनशील निकायको परिचय प्रयोग गरिन्। यसले सर्वसाधारणमा प्रहरीप्रति रहेको विश्वासमाथि नै चोट पुर्याएको छ। जब जो–कोहीले प्रहरीको नाम भजाएर खुलेआम रकम उठाउन सक्छ भने सुरक्षा संयन्त्रको विश्वसनीयता कहाँ पुग्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
प्रहरीका अनुसार पक्राउ परेकी महतोविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। थप पीडितसमेत आउन सक्ने आशंकामा घटनाको विस्तृत छानबिन भइरहेको छ। उनको विगत गतिविधि, सम्भावित सहयोगी र रकमको वास्तविक परिमाणसमेत खोतलिँदैछ।
