बालेनको सप्तरी यात्रा प्रचार होइन, दम्भको प्रदर्शनः सनरुफबाट ‘माला हुर्याउँदै’ गजेन्द्रनारायणको अपमान
राजविराज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’को सप्तरी यात्रा राजनीतिक अभियानभन्दा बढी विवाद र असन्तुष्टिको कारण बनेको छ। परिवर्तन, सम्मान र नयाँ राजनीतिक संस्कृतिको नारासहित मधेश छिरेका बालेनमाथि भने स्थानीयले उल्टै ‘अहंकार र अपमान’ को आरोप लगाएका छन्।
सनरुफ गाडीबाट घण्टी बजाउँदै आएका उनको शैलीले चुनावी माहोल तात्नुभन्दा पहिले नै आक्रोश बढाएको देखिन्छ। मंगलबार दिउँसो राजविराज प्रवेश गरेका बालेनलाई कार्यकर्ता र समर्थकले अबिर, पुष्पगुच्छा र नाराबाजीसहित स्वागत गरे। सडक किनारामा घण्टौँदेखि पर्खिरहेका समर्थकहरू उनलाई नजिकबाट भेट्ने, हात मिलाउने र कुरा गर्ने आशामा थिए।
तर बालेन गाडीबाट ओर्लिएनन्। सनरुफबाटै हात हल्लाउँदै र घण्टी बजाउँदै अघि बढे। कतिपयका लागि यो ‘स्टाइल’ लाग्यो होला, तर मधेशको राजनीतिक–सांस्कृतिक सन्दर्भमा यसलाई दूरी र दम्भका रूपमा लिइएको छ।
विवादको केन्द्र बन्यो राजविराजको गजेन्द्र चोक। मधेश आन्दोलनका प्रतीक र सम्मानित नेता स्वर्गीय गजेन्द्र नारायण सिंहको शालिक अगाडि पुग्दा समेत बालेन गाडीबाट नओर्ली सनरुफबाटै एउटा माला शालिकतर्फ फ्याँकेर नमस्ते गर्दै अघि बढे। मधेशका लागि भावनात्मक र ऐतिहासिक महत्व बोकेको व्यक्तित्वप्रति यस्तो व्यवहार गरिएको भन्दै स्थानीयवासी आक्रोशित बने। ‘सम्मान गर्न आएको कि अपमान गर्न?’ भन्ने प्रश्न तत्कालै सुनियो।
स्थानीय नेताहरू भन्छन्, गजेन्द्र बाबुको शालिकमा पुग्दा सामान्य नागरिकदेखि ठूला नेतासम्म गाडीबाट झरेर श्रद्धाञ्जली अर्पण गर्ने चलन छ। त्यो ठाउँ राजनीतिक औपचारिकता मात्र होइन, भावनात्मक स्मृति पनि हो। तर बालेनले गाडी नरोकी, नओर्ली, माला ‘हुर्याएर’ अघि बढेको दृश्यले समर्थकसमेत असहज बने। कतिपयले यसलाई ‘मधेशको आत्मसम्मानमाथिको चोट’ भन्दै खुलेर आलोचना गरेका छन्।
कार्यक्रमअनुसार उनी शालिकमा माल्यार्पणपछि नजिकै रहेको पार्टी कार्यालय पुग्ने भनिएको थियो। तर गाडी त्यहाँसमेत रोकिएन। नेता–कार्यकर्ता र समर्थकहरू कार्यालय अगाडि लामो समयसम्म प्रतीक्षा गरिरहे। पछि होटलमा खाना खाएर फर्किने चर्चा चलेपछि उनीहरू फेरि एक घण्टाभन्दा बढी कुरिरहे। तर बालेन हुलाकी सडक हुँदै सिधै पश्चिमतर्फ लागे। अन्ततः पर्खाइ निराशामा बदलियो।
यो घटनाले बालेनको चुनावी शैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ। ‘जनतामाझ जाने’ दाबी गर्ने नेता जनतासँगै नबस्ने, गाडीबाटै नओर्लिने र प्रत्यक्ष संवादसमेत नगर्ने हो भने त्यो अभियान कति प्रभावकारी हुन्छ? सामाजिक सञ्जाल र भीडको लहरले मात्रै राजनीतिक सम्बन्ध टिक्दैन भन्ने यथार्थ सप्तरीको यात्राले देखाएको छ।
विश्लेषकहरूका अनुसार बालेनको सनरुफ राजनीतिले ‘दृश्य’ त बनाउँछ, तर ‘सम्बन्ध’ बनाउँदैन। मधेशजस्तो संवेदनशील भूगोलमा प्रतीक, सम्मान र स्थानीय संस्कृतिप्रतिको संवेदनशीलता अत्यन्त महत्वपूर्ण हुन्छ। त्यही ठाउँमा गरिएको सानो असावधानी पनि ठूलो असन्तोषमा बदलिन सक्छ। गजेन्द्र बाबुको शालिकमा गरिएको व्यवहार त्यसैको उदाहरण बनेको छ।
रास्वपाले नयाँ राजनीतिक संस्कृति र विनम्रताको वाचा गर्दै आएको छ। तर सप्तरीको यो घटनाले त्यो दाबीलाई नै चुनौती दिएको छ। परिवर्तनको भाषण बोकेर आएको नेतृत्व यदि जमिनसँग नजोडिने हो भने त्यो परिवर्तन नारामै सीमित हुने खतरा देखिन्छ। राजविराजको सडकमा देखिएको निराश भीडले यही संकेत गरिरहेको छ—घण्टीको आवाजले मात्रै भरोसा जितिँदैन, सम्मान र संवादले मात्र राजनीति टिक्छ।


