पार्टीलाई भोट नहाल्ने केन्द्रिय सदस्यलाई खोजी–खोजी कारवाही गर्ने प्रचण्डको चेतावनी
काठमाडौँ— नेपाली कम्युष्टि पार्टीका संयोजक पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै पार्टीलाई भोट नहाल्ने केन्द्रीय सदस्यहरूलाई खोजी–खोजी कारबाही गरिने चेतावनी दिएका छन्।
चुनावी पराजयपछि आन्तरिक असन्तोष चुलिँदै जाँदा जनवर्गीय संगठनहरूको बैठकमा बोल्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेपछि नेतृत्वले समीक्षा प्रक्रिया अघि बढाएको छ।
जेन–जी आन्दोलनपछिको नयाँ राजनीतिक समीकरणमा नेकपा चौथो स्थानमा सीमित हुन पुगेको छ। प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जितेको परिणामले नेतृत्वलाई मात्र होइन, संगठनको आधारभूत संरचनामाथि नै प्रश्न उठाएको छ।
बैठकमा प्रचण्डले केन्द्रीय तहदेखि प्रदेश र जनवर्गीय संगठनसम्मका जिम्मेवार व्यक्तिहरू नै मतदानको बेला पार्टीप्रति इमानदार नरहेको ‘जनरल रिपोर्ट’ आएको उल्लेख गर्दै अनुशासनहीनतामाथि कठोर कदम चाल्नुपर्ने बताए।
उनका अनुसार करिब ५० प्रतिशत मत राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’मा गएको तथ्यले पार्टीभित्रको निष्ठामाथि गम्भीर प्रश्न उठाएको छ। उनले स्पष्ट शब्दमा भने— अरु बेला पार्टीको नाम लिने तर मतदानका बेला अर्कै रोज्ने प्रवृत्तिलाई अब सहन सकिँदैन।
जिम्मेवार पदमा बसेकाहरूलाई समान रूपमा नहेरी काम गर्ने र नगर्नेबीच स्पष्ट भेद गर्नुपर्ने समय आएको उनको भनाई छ। उनले संगठन चुस्त, दुरुस्त र जवाफदेही बनाउने प्रक्रिया तत्काल सुरु गर्नुपर्नेमा जोड दिँदै रिपोर्टिङ प्रणाली कडा बनाउन निर्देशन दिएका छन्।
कसले भोट हाल्यो, कसले हालेन भन्ने तथ्य लुकाउन नपाइने र दोषी पहिचान गरी कारबाही अनिवार्य हुने उनको अडानले पार्टीभित्र अनुशासन कडाइतर्फ जाने संकेत दिएको छ। यसक्रममा प्रचण्डले नयाँ उदाएको राजनीतिक शक्तिप्रति पनि कटाक्ष गरेका छन्।
विशेषगरी रास्वपाको चुनावी सफलता ‘हावाहुरी’को परिणाम भएको दाबी गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय कारकहरूले भूमिका खेलेको टिप्पणी गरे। महिलाहरूको प्रतिनिधित्वबारे चर्चा गर्दै उनले जनयुद्ध र जनआन्दोलनकै उपलब्धिका कारण आज महिलाहरू राजनीतिमा अगाडि आएको दाबी गरे, र त्यसको श्रेय अन्य शक्तिले लिन खोज्नु गलत भएको उनको संकेत थियो।
विचार र राजनीतिमा नेकपाले नेतृत्वदायी भूमिका खेलेको दाबी दोहोर्याउँदै प्रचण्डले चुनाव जित्ने आधार केवल विकास, पैसा वा लोकप्रियता मात्र नभएको तर्क अघि सारे। चितवन, भक्तपुर जस्ता क्षेत्रका उदाहरण प्रस्तुत गर्दै उनले विकास, जनसमर्थन वा आर्थिक हैसियत मात्रले जित सुनिश्चित नगर्ने र अन्ततः विचारधारा र संगठन नै निर्णायक हुने निष्कर्ष सुनाए।
समग्रमा, चुनावी पराजयपछि प्रचण्डले अघि सारेको कडा अनुशासन र आन्तरिक ‘सफाइ अभियान’को संकेतले नेकपाभित्र नयाँ शक्ति सन्तुलनको बहस सुरु गरेको छ।
