‘फेक कन्टेन्ट’ फैलाउनेमाथि कारबाही गर्ने सेनाको चेतावनी
काठमाडौँ— पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममार्फत नेपाली सेना र यसको नेतृत्वलाई लक्षित गर्दै प्रसारित हुँदै आएका आधारहीन तथा कपोकल्पित सामग्रीप्रति नेपाली सेनाले गम्भीर ध्यानाकर्षण जनाएको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाबाट जारी गरिएको प्रेस नोटमार्फत सेनाले यस्ता भ्रामक अभिव्यक्तिहरूले आम जनमानसमा भ्रम फैलाउने र संस्थागत विश्वासमा चोट पु¥याउने खतरा रहेको भन्दै कडा आपत्ति जनाएको हो।
प्रेस नोटमा स्पष्ट रूपमा भनिएको छ– पछिल्लो समय तथ्यहीन सूचना, द्वेषपूर्ण टिप्पणी र अप्रमाणित सामग्रीहरू योजनाबद्ध रूपमा फैलाउने प्रवृत्ति बढ्दै गएको छ, जसले जनमतलाई प्रभावित पार्ने मात्रै होईन, राष्ट्रिय सुरक्षासँग जोडिएका संवेदनशील विषयहरूलाई समेत विकृत बनाउने जोखिम निम्त्याइरहेको छ।
सेनाले यस्ता गतिविधिहरूलाई ‘उच्छृङ्खल’ र ‘अराजक’ व्यवहारको रूपमा व्याख्या गर्दै त्यसको नियमित निगरानी भइरहेको जानकारी दिएको छ। साथै, यस्ता भ्रामक सामग्रीहरू प्रसारण वा प्रचारप्रसार नगर्न सबै सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सम्बन्धित पक्षलाई स्पष्ट आग्रह गरिएको छ।
‘गलत सूचना फैलाउने कार्यमा संलग्न व्यक्ति वा समूहहरूलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याइनेछन्’ सेनाले भनेको छ। यसले आगामी दिनमा ‘फेक कन्टेन्ट’ र अफवाहविरुद्ध कडा कदम चाल्ने संकेत दिएको रूपमा हेरिएको छ।
सेनाले आम नागरिकलाई समेत सचेत रहन आग्रह गर्दै कुनै पनि आधारहीन, द्वेषपूर्ण वा अपुष्ट सूचनालाई विश्वास नगर्न अनुरोध गरेको छ। आधिकारिक जानकारीका लागि केवल सेनाबाट जारी गरिएका प्रेस विज्ञप्ति, आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म तथा वेवसाइटमार्फत प्रकाशित सूचनालाई मात्र भरोसायोग्य मान्न आग्रह गरिएको छ।

