फेसबुकमा भावुक भिडियो पोष्ट गरेर सम्पर्कविहीन शोभा पाठक वनस्थलीमा भेटिईन

काठमाडौँ– सामाजिक सञ्जाल फेसबुकमा भावुक भिडियो पोस्ट गरेपछि सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले काठमाडौँको वनस्थलीमा फेला पारेको छ। भिडियो सार्वजनिक भएपछि उत्पन्न परिस्थितिलाई गम्भीर रूपमा लिएर खोजतलास गर्दा उनलाई बालाजु–वनस्थली क्षेत्रमा फेला पारिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी शनिबार राति भावुक गीतको पृष्ठभूमिमा रुँदै गरेको भिडियो फेसबुकमा पोस्ट गरेपछि सम्पर्कविहीन भएकी थिईन। त्यसपछि परिवार र प्रहरीको समन्वयमा खोजी अभियान अघि बढाइएको थियो।

प्रहरीका अनुसार आइतबार बिहान करिब सवा ९ बजे उनलाई वनस्थली क्षेत्रमा फेला पारिएको हो। उद्धारपछि उनको अवस्था संवेदनशील देखिएपछि तत्काल काउन्सिलिङका लागि चिकित्सकीय निगरानीमा राखिएको छ।

हाल उनलाई मनमोहन अस्पतालमा लगिएको छ, जहाँ चिकित्सकको टोलीले आवश्यक मानसिक परामर्श तथा स्वास्थ्य मूल्यांकन गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

उनका अनुसार प्रारम्भिक अवस्थाबाट हेर्दा उनी भावनात्मक रूपमा अत्यधिक तनावमा रहेको देखिएको छ। ‘उहाँले किन यस्तो भिडियो पोस्ट गर्नुभयो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ,’ एसपी भट्टराईले भने।

प्रहरीले उनको परिवारका सदस्यहरूलाई समेत बोलाएर अवस्थाबारे जानकारी गराएको छ। परिवारसँग समन्वय गरी थप मनोपरामर्श र आवश्यक सहजीकरण अघि बढाइने प्रहरीले जनाएको छ।

पछिल्ला दिनहरूमा शोभा पाठक सामाजिक सञ्जालमा निरन्तर सक्रिय रहँदै विभिन्न राजनीतिक तथा सामाजिक विषयमा धारणा सार्वजनिक गर्दै आएकी थिइन्। उनले नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै पनि स्ट्याटसहरू लेखेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट