सप्तरीः चुनावमा ‘घात’ गर्ने उपाध्यक्षसहित १० जना जनप्रतिनिधिलाई नेकपाको डण्डाः पदमुक्त गर्न सिफारिस

राजविराज– प्रतिनिधिसभा निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै नेपाली कम्युनिष्ट पार्टीले सप्तरीका १० जना स्थानीय जनप्रतिनिधिलाई पदमुक्त गर्न केन्द्रलाई सिफारिस गरेको छ।

पार्टीले छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष राजोदेवी यादवसहित विभिन्न पालिकाका वडाअध्यक्षहरूलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको हो। सप्तरी जिल्लास्थित पार्टी केन्द्रीय कमिटी सदस्यहरूको राजविराजमा बसेको बैठकले निर्वाचनका क्रममा पार्टी अनुशासन उल्लंघन र पार्टी उम्मेदवारविरुद्ध सक्रिय भएको निष्कर्ष निकाल्दै पदमुक्त गर्ने प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो।

बैठकले ती जनप्रतिनिधिहरूले पार्टी र पार्टी समर्थित उम्मेदवारविरुद्ध काम गरेको पुष्टि भएको दाबी गर्दै निर्वाचन आयोगमार्फत कानुनी प्रक्रिया अघि बढाउन पनि केन्द्रलाई अनुरोध गरेको छ।

छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष राजोदेवी यादवसहित छिन्नमस्ता गाउँपालिकाका–१ का ललन यादव र वडा नम्बर ६ का कपलेश्वर साहलाई कारबाही सिफारिस गरिएको छ। त्यसैगरी राजविराज नगरपालिकाका–७ का सुभाष यादव, वडा नम्बर ८ का जयनारायण मण्डल र वडा नम्बर १० का गंगाराम खंग पनि पदमुक्त सिफारिसमा परेका छन्।

विष्णुपुर गाउँपालिका–१ का बलराम यादव, रुपनी गाउँपालिका–२ का सरोज यादव, तिलाठी कोइलाडी गाउँपालिका–४ का मुनिलाल मुखिया र सुरुङ्गा नगरपालिका–१ का छत्रबहादुर राउतलाई समेत पार्टीले कारबाहीको सूचीमा राखेको छ।

पार्टीका केन्द्रीय सदस्य गोविन्द न्यौपानेका अनुसार निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध काम गरेको प्रमाणका आधारमा उनीहरूलाई पदमुक्त गर्न कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरिएको हो। उनका अनुसार अब निर्वाचन आयोगमार्फत आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइनेछ।

पार्टी मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादव, सह–इन्चार्ज विश्वनाथ साह र सहसंयोजक सुधिर साहको उपस्थितिमा बसेको बैठकले संगठनात्मक पुनर्संरचनासम्बन्धी निर्णय पनि गरेको छ। बैठकले सप्तरीका १८ वटै पालिकामा असार १० गतेभित्र संगठनात्मक समायोजन सम्पन्न गर्ने लक्ष्यसहित एक पालिका एक केन्द्रीय सदस्यको जिम्मेवारी तोकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट