विवाहेत्तर सम्बन्ध जोगाउँन रचिएको भयानक षडयन्त्रः छोरीको आँखैअघि आमाले गरिन बाबुको रक्तरञ्जित अन्त्य

काठमाडौँ– भारतको आन्ध्र प्रदेशको चित्तुर जिल्लामा एक युवतीले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको घट्ना सार्वजनिक भएको छ। प्रहरी अनुसन्धान अनुसार करिब दुई वर्षअघि विवाह गरेकी १९ वर्षीया हासिनीमाथि आफ्नै श्रीमान २३ वर्षीय रमेशको हत्या योजनाबद्ध रूपमा गराएको आरोप लागेको हो।

घटनाको सबैभन्दा संवेदनशील पक्ष भने हत्या हुँदा दम्पतीकी सानी छोरी पनि घटनास्थल नजिकै रहेको तथ्य हो। प्रहरीका अनुसार हासिनी र रमेशको विवाह भएको दुई वर्षजति भएको थियो। उनीहरूको एक सानी छोरी पनि छिन्। रमेश निजी कम्पनीमा कार्यरत थिए। तर विवाहअघि सुरु भएको हासिनी र २० वर्षीय युगान्धरबीचको सम्बन्ध विवाहपछि पनि निरन्तर कायम रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।

अनुसन्धान अधिकृतहरूका अनुसार यही सम्बन्ध अन्ततः एक आपराधिक योजनामा परिणत भएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको छ। प्रहरीको भनाइअनुसार हासिनी र युगान्धरले रमेशलाई बाटोबाट हटाउने योजना बनाएका थिए।

घटनाको दिन हासिनीले श्रीमानलाई गुडुपल्ले मण्डलस्थित श्री मल्लेश्वर स्वामी मन्दिर दर्शन गर्न जाने प्रस्ताव राखेकी थिइन्। दम्पती आफ्नी सानी छोरीसहित मोटरसाइकलमा मन्दिरतर्फ जाँदै थिए। यही यात्राका क्रममा हासिनीले आफ्नो प्रेमी युगान्धरलाई निरन्तर लाइभ लोकेसन पठाइरहेकी थिइन्, जसका आधारमा हमलाकारीहरूले उनीहरूको गतिविधि पछ्याएको प्रहरीको दाबी छ।

प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणअनुसार यात्राका क्रममा बाटोमा हासिनीको पर्स खसेको थियो। अनुसन्धानकर्ताहरूले यसलाई पूर्वनियोजित संकेत भएको आशंका गरेका छन्। पर्स उठाउन रमेशले मोटरसाइकल रोकेलगत्तै लुकेर बसेका व्यक्तिहरू बाहिर निस्किएको र त्यसपछि आक्रमण सुरु भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार रमेश ज्यान जोगाउन प्रयास गर्दै करिब १०० मिटरसम्म भागेका थिए। तर हमलाकारीहरूले उनलाई पछ्याएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप छ। घटना हुँदा उनकी सानी छोरी पनि नजिकै रहेको बताइएको छ।

घटनापछि अनुसन्धानको दिशा फेरियो। मन्दिर जाने बाटोमा जडान गरिएका सीसीटीभी क्यामेराका दृश्यहरू प्रहरीले अध्ययन ग¥यो। फुटेजमा रमेश आफ्नी श्रीमतीसँग मन्दिरतर्फ गएको देखिए पनि केही समयपछि हासिनी दुई जना पुरुषसँग रमेशकै सवारी साधनमा फर्किरहेको दृश्य देखिएको प्रहरी स्रोतको भनाइ छ।

त्यसपछि प्रहरीले मोबाइल फोनको कल डिटेल, लोकेसन डेटा तथा डिजिटल गतिविधिको विश्लेषण गरेको थियो। अनुसन्धान अगाडि बढ्दै जाँदा घटनाका विभिन्न कडीहरू जोडिँदै गए र अन्ततः हत्या प्रकरणको खुलासा भएको प्रहरीको दाबी छ।

घटनाको अर्को महत्वपूर्ण पक्ष भनेको अनुसन्धानको सुरुवात हो। हासिनीकी आमाले छोरी र नातिनी लामो समयदेखि सम्पर्कविहीन रहेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धान प्रक्रिया सुरु भएको थियो। प्रारम्भिक रूपमा हराइरहेको घटनाजस्तो देखिएको विषय क्रमशः हत्या अनुसन्धानमा परिणत भएको बताइएको छ।

प्रहरीले हाल हासिनी, युगान्धर तथा घटनामा संलग्न भनिएका अन्य व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ। अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

यो घटना हालै चर्चामा रहेको पुणेको सिया गोयल हत्या प्रकरणसँग तुलना हुन थालेको छ। उक्त घटनामा पनि एक युवतीले आफ्ना प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या गरेको आरोप लागेको थियो। त्यसैले पछिल्ला दिनहरूमा प्रेम सम्बन्ध, डिजिटल सम्पर्क र योजनाबद्ध हिंसासँग जोडिएका यस्ता घटनाले भारतीय समाजमा गम्भीर बहस जन्माइरहेका छन्।

चित्तुरको यो घटनामा भने अनुसन्धान अझै जारी रहेकाले अदालतबाट दोष प्रमाणित नभएसम्म पक्राउ परेका व्यक्तिहरू कानुनी रूपमा आरोपित मात्र रहनेछन्। तर हालसम्म सार्वजनिक भएका अनुसन्धान विवरणहरूले एउटा परिवारको जीवन कसरी हिंसात्मक अन्त्यतर्फ धकेलियो भन्ने प्रश्नलाई केन्द्रमा ल्याइदिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट