५० हजार ऋणले पोलेपछि लुटपाट गर्न रडले हानेर दम्पत्तिको हत्या

काठमाण्डौं– काभ्रपलाञ्चोकको महाभारत गाउँपालिमा २३ दिनअघि भएको दम्पत्ती हत्या प्रकरणमा संलग्न रहेका सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ का ३८ वर्षीय एकेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
महाभारत–४, तीनखुट्टका ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकैमाया तामाङको हत्या आरोपमा एकेन्द्रलाई पक्राउ गरी बुधबार प्रहरीले सार्वजनिक गरेको हो। उनले महादेवटारमा सडक निर्माणसम्बन्धी काम गर्ने गरेको प्रहरीले जनाएको छ।
मानवहादुरका दम्पत्तिको गत ७ जेठको राती हत्या भएको थियो। रड र घन लगायतका घरेलु हतियारले हिर्काएर उनीहरुको हत्या गरेको खुलेको छ। घटनापछि हत्यामा संलग्नको खोजीका लागि प्रहरीले ‘अप्रेशन महाभारत’ चलाएको थियो।
काभ्रे प्रहरीका एसपी बसुन्धरा खड्काका अनुसार एकेन्द्रले ऋण तिर्न नसकेपछि पैसा जम्मा गर्न लुटपाट गर्ने योजनासहित दम्पतीको हत्या गर्ने योजना बनाएका थिए। उनले हत्यापछि सुनका गहना, पसलमा रहेको रिचार्ज कार्ड र केही नगद रकमसमेत लिएर भागेका थिए।
आफ्नो आर्थिक अवस्था कमजोर रहेको र ऋण तिर्न नसकेकाले पैसा जुटाउन लुटपाट गर्न जाँदा दम्पत्तिको हत्या भएको एकेन्द्रले बयान दिएका छन्। एसपी खड्का भन्छन्–‘ऋण तिर्न दबाब परेपछि लुटपाट गर्न दम्पतीको हत्या गरेको बयान दिएको छ।’
प्रहरीका अनुसार एकेन्द्रको ऋण एक लाख रुपैयाँभन्दा बढी पुगिसकेको थियो। त्यसमध्ये ५० हजार जेठभित्र तिर्नुपर्ने दबाब परेको थियो। सडकमा काम गर्ने क्रममा बेलाबेला किनमेलका लागि मानबहादुर दम्पतीले सञ्चालन गरेको पसलमा उनले केकैमायाले लगाएको सुनका गहनाहरू देखेका थिए।
त्यसपछि ७ जेठका मध्यरातमा साबुन र स्याम्पु किन्ने बहाना बनाएर पसलमा पुगेका उनले केकैमाया र मानबहादुरको हत्या गरेको प्रहरीको अनुशन्धानबाट खुलेको छ।