ढाकाकुमारको अर्को खुलासाः ३ करोड प्रकरणमा जोडिए रविका सहकर्मी
काठमाण्डौं– केही समय अघि मेडिकल ब्यवसायी दुर्गा प्रसाईसँग ३ करोड मागेर चर्चामा आएका रास्वपाका पदमुक्त सांसद तथा नेता ढाकाकुमार श्रेष्ठले रवि लामिछानेकै बारेमा नयाँ खुलासा गरेका छन्।
एक टेलिभिजन अन्तवार्तामा उनले अध्यक्ष रवि लामिछानेका किचन क्याबिनेटकै सदस्यले आफुलाई मन्त्री बनाउन ३ करोड मागेको दावी गरे।
अमेरिकाको बाल्टिमोरमा बस्दै आएका रविका प्रिय पात्र महोनजंग थापाले आफुसँग ३ करोड मागेको उनको दावी छ। मनोज र रवि अमेरिकामा संगै बसेका साथी हुन।
बाल्टिमोरमा रहेका थापा रविले पार्टी खोलेलगत्तै नेपाल आएका थिए। सामाखुसीको एउटा कफी फसलमा आफूसँग मन्त्रीका लागि ३ करोड मागेको र अन्तिममा साढे २ करोडमा कुरा मिलेको ढाकाको दावी छ।
रकम मागेपछि थापाले आफूलाई मन्त्री कन्फर्म गरेको पनि उनले बताएका छन्। थापाले लामिछाने गृहमन्त्री हुँदा प्रहरीमा सरुवा बढुवाका लागि पनि पैसा मागेको आरोप लागेको थियो।
तर, दुर्गा प्रसाईसँगको प्रकरण वाहिर आएपछि पार्टीले ढाकालाई कारवाही गरेको थियो।
थापाले भने श्रेष्ठको आरोपलाई फेसबुकमार्फत खण्डन गरेका छन्। ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्वाहीमा परेका पुर्व–सांसद ढाका कुमार श्रेष्ठले एक टेलिभिजन अन्तर्वार्तामा मेरो नाम लिएर उनलाई मन्त्री बनाउने भन्दै पैसा मागेको झुठो, कपोल्कल्पित आरोप लगाएको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ उनले भनेका छन्–‘म उनलाई यो आरोप प्रमाणित गर्न चुनौती दिन्छु। आफ्नो भनाइ पुष्टि हुने एउटा पनि प्रमाण देखाए पार्टीले गर्ने जुन सुकै कारवाही भोग्न पनि तयार रहेको जानकारी गराउन चाहन्छु।’
थापाले श्रेष्ठ विरुद्ध अदालत जाने चेतावनी समेत दिएका छन्। ‘उनको गैर जिम्मेवार अभिव्यक्तिले पर्न गएको असर बारे कानुनी परामर्शमा छु र छिट्टै अदालत जानेछु। पार्टीको अनुशासन समिति, केन्द्रिय समिति तथा संसदीय दलमा उनले दिएको बयान र विवरण रेकर्ड मै रहेको होला भन्ने समेत स्मरण गराउन चाहन्छु। धन्यवाद।’ उनले लेखेका छन्।