जलहरी प्रकरणमा मुद्दा हाल्ने अख्तियारको तयारी, पशुपति विकास कोषमा खैलाबैला

काठमाडौं– पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा भएको भनिएको भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्ने तयारी गरेपछि पशुपति क्षेत्र विकास कोषमा खैलाबैला सुरु भएको छ।

अख्तियारले पूर्वाग्रहीपूर्ण ढंगले मुद्दा दायर गर्ने तयारी गरेको दावी गर्दै कोषका पदाधिकारीहरु त्यसलाई रोक्न दौडधुपमा लागेका छन्। सदस्यसचिव डा मिलन कुमार थापाको अगुवाइमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयमा निवेदन दिईएको छ।

मंगलबार दिईएको निवेदनमा सत्यतथ्य छानबिनको माग गर्दै माग गरिएको छ। कोषका अधिकारीहरुले आयोगले सबैको रोहबरमा जोख्दा सुन पुगेपनि पुनः मुद्दा दर्ताको तयारी गरेको भन्दै आपत्ति जनाएका छन्।

कोषका पदाधिकारीले आयोगप्रति प्रश्नसमेत उठाएका छन्। ‘सुनचाँदी रत्न आभूषण संघलाई शुद्धता जाँच गर्ने अधिकार छ कि छैन ? उक्त महासंघको कानुनी वैधता केहो, शुद्धता जाँच गर्ने मेसिनको आधिकारिकता केहो, मेसिनलाई वैधानिकता दिने निकाय कुन हो ?’ लगायत प्रश्न गरिएको छ।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको परिषद्को निर्णयबाट आफूलाई संयोजक बनाइएको र उक्त निर्णय गर्ने समितिका सम्पूर्ण पदाधिकारीहरुको जिम्मेवारी के हुने ? भन्नेबारे पनि प्रश्न छ।

सुनको जलहरी बनाउँदा सम्पूर्ण कार्यमा नेपाली सेनाको जिम्मेवारीमा बनाएको र सुनको कम भएको हो भने सेनाको जिम्मेवारी के हुने भन्ने प्रश्न पनि छ ।

जलहरीको विषयमा पशुपति क्षेत्र विकास कोषकै कर्मचारीहरु, अन्य पूर्व पदाधिकारीहरु तथा माफियाहरुको स्वार्थ नमिल्दा उजुरी हाल्ने काम भइरहेको थापाले निवेदनमा जिकिर गरेका छन् । यो प्रकरणलाई संसदीय समिति मार्फत छानबिन गर्न थापाले माग गरेका छन्।

यसअघि महालेखाको ५९औं प्रतिवेदनमा जलहरी प्रकरणमा अनियमितता भएको उल्लेख भएका आधारमा माओवादी केन्द्रका सांसद राजन दाहालले गत जेठ १० गते संसदमै प्रश्न उठाएका थिए। उनले ‘सुन भन्दै पित्तलको जलहरी राखेको’ आरोप लगाउँदै एमालेमाथि प्रश्न उठाउँदा संसदमा हंगामा भएको थियो ।

महालेखाले गर्भगृहमा सुनको जलहरी लगाउँदा अनियमितता भएको र चार किलोभन्दा बढी सुनको हिसाब नदेखिएको उल्लेख गरेको थियो।

पशुपतिनाथको गर्भगृहमा रहेको शिवलिंगमा विसं १८३८ मा रणबहादुर शाहको पालामा चाँदीको जलहरी स्थापित भएको थियो। ०२४ सालमा त्यसको मर्मत गरिएको थियो। शिवलिंगको पिठिकामा राखिएको चाँदीको जलहरीमा धेरै फाटेर दैनिक पञ्चामृत पूजा गर्दा उक्त पदार्थ छिर्न गई गर्भगृह नै गन्ध आउने भएपछि चाँदीको एकभन्दा माथि ०७७ सालको शिवरात्री ताका सुनको जलहरी स्थापना गरिएको थियो।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ०७७ फागुन १२ गते विशेष पूजा गरी जीर्ण चाँदीको जलहरीमाथि सुनको जलहरी स्थापना गरेकी थिइन् ।

१०८ केजीको जलहरी राख्ने योजना अनुसार नेपाल राष्ट्र बैकबाट १०३ किलो ७७३.१०० ग्राम सुन खरिद गरिएको थियो । जलहरी बनाउँदै जाँदा ९६ केजी ८२२ ग्रामको जलहरी निर्माण भएको र बाँकी सुन जलहरी माथि सुनको पेटी बनाएर राखिएको थापाको दाबी छ ।

तर, जलहरी ९६ केजी मात्र भएको र बाँकी सुन हराएको भन्दै उजुरी परेपछि अख्तियारले ०८० असार १० गते जोख्ने र सुनको शुद्धता परीक्षण गर्दा नेपाल राष्ट्र बैंकबाट खरिद गरिए अनुसारको तौल र शुद्धता पुगेको थापाको जिकिर छ।

तथापी आयोगले हाल पुनः अनुचित ढंगबाट वयान लिने, वयानका प्रश्नहरुमा सुन हराएकोले किन कारबाही नगर्ने ? किन मुद्दा दायर नगर्ने ? भन्दै मानसिक रुपमा तनाव दिने कार्य गरेको उजुरीमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट