नक्सलबारीमा नेपाली युवतीको कुहिएको शव फेला, हत्याको आरोपमा श्रीमान् पक्राउ
दमक– झापाको मेचीनगर–१० धुलाबारी माइत भएकी २३ वर्षीया हेमा मण्डलको भारतको नक्सलबारीस्थित भाडाको कोठामा कुहिएको अवस्थामा शव फेला परेको छ। घटनामा उनका श्रीमान् विप्लव कुमार चौधरी पक्राउ परेका छन्।
हेमाको मृत्यु स्वाभाविक नभई हत्या भएको दाबी गर्दै माइती पक्षले भारतीय प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढाएको प्रहरीले विप्लवलाई पक्राउ गरी सिलिगुडी अदालतमा समेत पेस गरेको छ। भारतको नक्सलबारीस्थित रथखोला मोडमा रहेको भाडाको घरमा हेमाको शव फेला परेको थियो।
घटनाको जानकारी पाएपछि नक्सलबारी प्रहरी घटनास्थल पुगेर शव बरामद गरी नक्सलबारी अस्पताल पु¥याएको थियो। म्याजिस्ट्रेटको उपस्थितिमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज तथा अस्पताल पठाइएको छ। हेमाको मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।
घटनापछि नेपालबाट हेमाका परिवारका सदस्य भारत पुगेका थिए। हेमाका बुबाले आफ्नी छोरीको मृत्यु स्वाभाविक नभई हत्या भएको दाबी गर्दै उनका श्रीमान् विप्लवविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। त्यसै उजुरीका आधारमा भारतीय प्रहरीले अनुसन्धान अघि बढाउँदै विप्लवलाई नियन्त्रणमा लिएको हो।
भारतीय प्रहरीका अनुसार विप्लव कामको सिलसिलामा करिब एक सातादेखि घरबाहिर थिए। उनी घर फर्किएपछि पत्नी हेमाको शव कोठाभित्र सडिसकेको अवस्थामा फेला परेको बताइएको छ। घटनाको प्रकृति र हेमाको मृत्यु भएको समयबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
अनुसन्धानका क्रममा प्रहरीले हेमाको मोबाइल फोनसमेत बरामद गरेको छ। भारतीय प्रहरीका अनुसार मोबाइलमा दम्पतीबीच असमझदारी तथा भनाभन हुने गरेको संकेत भेटिएको छ। उनीहरूबीच अन्तिमपटक सेप्टेम्बर २१ मा फोनमा कुराकानी भएको बताइएको छ।
माइती पक्षका अनुसार करिब दुई वर्षअघि विप्लव कामका लागि झापाको धुलाबारी आएका बेला हेमासँग उनको चिनजान भएको थियो। चिनजानपछि उनीहरू प्रेम सम्बन्धमा जोडिएका थिए र पछि भागेर विवाह गरेका थिए।
विप्लव भारतको गंगारामपुरका रहेको बताइएको छ। विवाहपछि उनले नेपालमा मोबाइल फोनको व्यापार गर्दै आएका थिए भने पछिल्लो समय दम्पती भारतको नक्सलबारीमा भाडाको घरमा बस्दै आएका थिए।
माइती पक्षका अनुसार विप्लवले हेमालाई फकाएर भारत लगेका थिए। घटनाअघि उनी कामको सिलसिलामा भन्दै करिब एक साताका लागि घरबाहिर गएको र सोही अवधिमा हेमाको मृत्यु भएको उनीहरूको दाबी छ।
तर हेमाको मृत्यु हत्या नै भएको हो भन्ने विषय अनुसन्धानबाट औपचारिक रूपमा पुष्टि भइसकेको छैन। प्रहरीले पोस्टमार्टम रिपोर्ट, मोबाइलसहितका प्रमाण र अन्य अनुसन्धानबाट घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ।
विप्लवलाई आइतबार सिलिगुडी अदालतमा पेस गरिएको जनाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान नक्सलबारी प्रहरीले अघि बढाइरहेको छ।

