एडीबीद्वारा नेपालका लागि १३ अर्ब ऋण स्विकृत, ऋण लिएर के गर्न खोज्दैछ सरकार ?
काठमाडौँ — एशियाली विकास बैंक (एडीबी)ले नेपाललाई करिब १३ अर्ब रुपैयाँ अर्थात् १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । यो ऋण सहयोग रकम वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रिकरण गर्नका लागि खर्च हुनेछ।
एडीबीले जनाए अनुसार स्थानीयस्तरमा वित्तीय व्यवस्थापनका लागि स्रोत, योजना तथा व्यवस्थापन सुधार कार्यमा उक्त रकम खर्च गरिने छ। सन् २०२५ सम्म संरचनात्मक वित्तीय रूपान्तरणका लागि यो सहयोग महत्वपूर्ण मानिएको छ ।
एडीबीका सार्वजनिक व्यवस्थापन अर्थशास्त्री चन्दन सापकोटाले भनेका छन्–‘एडीबीको यो कार्यक्रमले पुँजीगत खर्चको मात्रा र गुणस्तर बढाउन, वित्तीय जोखिम न्यूनीकरण गर्न, सार्वजनिक निकायलाई सुधार गर्नुका साथै वित्तीय पारदर्शिता र दक्षता अभिवृद्धि गर्नेछ।’
एडीबीले नेपाललाई खर्च र ऋण व्यवस्थापन क्षेत्रमा सुधार गर्न सहयोग गर्दै आएको छ । कार्यक्रममा वित्तीय जोखिम र रणनीति प्रतिवेदनको स्वीकृति तथा त्यसको सञ्चालन, ऋण व्यवस्थापनमा पारदर्शिता र वार्षिक ऋण योजनाको कार्यान्वयन, सार्वजनिक संस्थानहरूको सुशासन र व्यवस्थापनमा सुधार, मध्यमकालीन सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीतिको कार्यान्वयन समावेश छ ।